बजारमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैङ्कले ४० अर्ब रकम बजारबाट खिचेको छ । आज बुधबार राष्ट्र बैंकले ४० अर्ब रकम खिचेको हो ।
राष्ट्र बैङ्कको मौद्रिक व्यवस्थापन विभागले २१ दिनको लागि आज निक्षेप संकलन बोलकबोल उपकरण मार्फत ४० अर्ब रकम खिच्नको लागि सूचना जारी गरेको थियो। यस बोलकबोलमा २७ वटा बैंक तथा वित्तीय संस्था सहभागी भएर ४३ वटा प्रस्ताव परेको राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकले ४० अर्ब मात्र खिच्न खोजे पनि बैंकहरुले ६६ अर्ब २५ करोडको लागि आवेदन दिएका थिए। ६६ अर्ब २५ करोडको आवेदन परे पनि राष्ट्र बैंकले ४० अर्ब मात्र बजारबाट खिचेको छ।
बैंकहरुले अधिकतम ३ प्रतिशत र न्युनतम २.९००० प्रतिशत ब्याजमा सो रकम राख्न प्रस्ताव गरेका थिए । राष्ट्र बैंकले भारित औसत ब्याजदरको रुपमा २.९८४५ प्रतिशत ब्याजमा सो रकम संकलन गरेको छ। यो भनेको बैंकहरुले भारित औसत २.९८४५ प्रतिशत ब्याजदर आउने गरि २१ दिनको लागि राष्ट्र बैंकमा ४० अर्ब राखेका हुन् । राष्ट्र बैंकले असार १८ गते यसको सावाँ तथा ब्याज बैंकहरुलाई फिर्ता गर्ने छ ।
निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैङ्कबाट इजाजतपत्र प्राप्त “क”, “ख” र “ग” वर्गका बैङ्क तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने व्यवस्था थियो।
के हो निक्षेप संकलन ?
बैंकिङ क्षेत्रसँग रहेको अधिक तरलता निश्चित अवधिका लागि प्रशोचन गर्न नेपाल राष्ट्र बैंकले प्रयोगमा ल्याएका विभिन्न उपकरणमध्ये निक्षेप सङ्कलन बोलकबोल पनि एक उपकरण हो । यसअन्तर्गत बोलकबोलको आधारमा ब्याजदर निर्धारण भई बैंक तथा वित्तीय संस्थाबाट नेपाल राष्ट्र बैंकले निक्षेप सङ्कलन गर्ने गर्दछ जसबाट तरलता प्रशोचन हुन जान्छ । बोलकबोल नगरिकन निक्षेप सङ्कलन दरमा निक्षेप सङ्कलन गर्न सकिने व्यवस्था पनि रहेको छ ।
निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैङ्कबाट इजाजतपत्र प्राप्त “क”, “ख” र “ग” वर्गका बैङ्क
तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउछन् । निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्ने व्यवस्था छ । बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिन्छ। निक्षेप संकलनको बोलकबोलमा निक्षेपवापत जम्मा गर्न चाहेको रकम र ब्याजदर (दशमलव पछिको हकमा चार अंकसम्म) उल्लेख गर्नु पर्नेछ ।
निक्षेप संकलनको लागि आव्हान गरिएको रकम बाँडफाँड गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आव्हान गरेकोरकमसम्म क्रमशः बाँडफाँड गरिन्छ। समान ब्याजदर उल्लेख भएका बोल रकम समावेश गर्दा कुल निष्काशित रकमभन्दा बढी भएमा Pro-rata Basis मा बाँडफाँड गरिन्छ।
निक्षेप संकलन गरिएको रकम सम्बन्धित बोलवालाको लगानी Portfolio हुने भएकोले सो रकमलाई अनिवार्य नगद मौज्दात (CRR) मा गणना गर्न पाइदैन। तर, राष्ट्र बैङ्कको निर्देशन बमोजिम कायम राख्नुपर्ने SLR तथा Liquidity Ratio मा गणना गर्न पाइनेछ ।













