असोज १० गतेदेखी परेको अविरल वर्षाले बिपी राजमार्ग (बनेपा–सिन्धुली–बर्दिबास)मा ध्वस्त बनाउँदा यात्रुलाई सास्ती भएको छ । पूर्वी पहाडी जिल्ला र तराईका जिल्लालाई राजधानी काडमाडौँसँग जोड्ने छोटो दूरीको यो राजमार्ग दशैँ अगाडी सञ्चालनमा आउन नसक्ने गरि बिग्रिएको हो ।
सडक विभागका सम्भार महाशाखा प्रमुख तथा उपमहानिर्देशक अर्जुनप्रसाद अर्यालका अनुसार बिपी राजमार्गका विभिन्न ठाउँमा गरी २ किलोमिटर सडक खण्ड बाढी र पहिरोले नामेट बनाएको छ । विभागका अनुसार तीन दिनको बाढीमा सबैभन्दा बढी प्रभावित बनेको बिपी राजमार्गको २ हजार ५० मिटर खण्ड बाटो यहाँनेर थियो भन्ने समेत निशाना नराखी बगेको छ ।
बनेपा–सिन्धुली–बर्दिबास १६० किलोमिटर यस राजमार्गमध्ये काभ्रेको रोशीदेखि नेपालथोकसम्मको सडकखण्डको लम्बाई करिब ३० किलोमिटर जति छ । त्यसमध्ये २ हजार ५० मिटर सडकखण्ड निशानासमेत नरहने गरि बाढीले बगाएको विभागको तथ्याङ्क छ ।
‘बिपी राजमार्गमा २ हजार ५० मिटर अर्थात् २ किलोमिटर भन्दा बढी सडकखण्डको कुनै निशाना नै बाँकी छैन, त्यहाँ ट्रयाक नै नयाँ खोल्नुपर्ने अवस्था छ’ सडक विभागका उपमहानिर्देशक अर्यालले भने, ‘अन्य खण्डमा कहीँ कहीँ गाडी चलिसके । बर्दीबासदेखि नेपालथोक खण्डमा गाडी चल्न थालिसके, भकुन्डेबेँसी–रोशीको अवरोध पनि हट्दै छ । तर, रोशी–नेपालथोक खण्ड भने बाटोको निशाना नै गायब हुँदा त्यहाँ ट्रयाक नै नयाँ खोल्नुपर्ने भएकाले दशैँ अघि पूरै राजमार्ग सञ्चालन हुन सक्ने स्थिति छैन ।’
उनका अनुसार दशैँ अगाडी नै त्यहाँ ट्रयाक खोलेर अस्थायी रुपमा गाडी चलाउन सक्ने सम्भावना पनि छैन । तर, तिहारसम्म ट्रयाक खोल्न सकिन्छ भनेर विभागले त्यस अनुसारको तयारी गरिरहेको उनको भनाइ छ ।
‘ट्रयाक नै नयाँ खोल्नुपर्ने भएकाले बजेट व्यवस्थापन गरी खरिद प्रक्रिया (टेण्डर आह्वान गरेर ठेक्का लगाएर)अनुसार काम गर्नुपर्ने हुन्छ’ उपमहानिर्देशक अर्यालले थपे, ‘बजेट कति लाग्छ भन्ने पनि यकिन भइसकेको अवस्था छैन ।’
यता, काभ्रेको मंगलटार प्रहरीले पनि अवस्था निकै असजिलो रहेको जनाएको छ । अस्थायी बाटो बनाएर राजमार्ग चलाउन सकिने सम्भावना पनि खासै नदेखिएको र बाढी पहिरोले बगाएर मरेका पशुचौपायले दुर्गन्ध फैलिँदै अर्को प्रकोपको जोखिम बढाएको बताइन्छ ।









