राष्ट्र बैंकले सार्वजनिक गर्ने महँगीको दरमा उपभोक्ता तथा विश्लेषकहरुले प्रश्न उठाउँदै आएका छन् । बजारको वास्तविक मूल्यभन्दा कम महँगी देखिने खालको विवरण आउने भन्दै आम मान्छेले केन्द्रीय बैंकको महँगी सम्बन्धि तथ्याङ्कलाई विश्वास गर्न छोडिसकेको विश्लेषण हुन थालेको छ ।
राष्ट्र बैंकले हरेक महिना सार्वजनिक गर्ने देशको पछिल्लो आर्थिक तथा वित्तीय अवस्था सम्बन्धि प्रतिवेदनमा मूल्यवृद्धिको अवस्था पनि राखिएको हुन्छ । तर, उपभोक्ता अधिकारकर्मीहरु बजारमा हरेक वस्तुको भाउ घट्नुको साटो बढिरहेको भन्दै केन्द्रीय बैंकको प्रतिवेदनले मूल्य घटेको भन्दैमा पत्याउन तयार हुँदैनन् ।
केन्द्रीय बैंकले आर्थिक वर्ष २०८१/०८२ मा महँगीलाई ५ प्रतिशतको सीमाभित्र राख्ने लक्ष्य लिएको छ । राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति दर ५.४४ प्रतिशत छ । अहिले पनि केन्द्रीय बैंकले ५ प्रतिशतभन्दा कम नै मूल्यवृद्धि रहेको जनाएको छ । यद्यपी, नयाँ प्रतिवेदन आउन बाँकी छ ।
उपभोक्ता हित संरक्षण मञ्चकी उपमहासचिव कुमारी खरेलका अनुसार हरेक वर्ष दैनिक उपभोग्य वस्तुको भाउ बढिरहे पनि केन्द्रीय बैंकले कहिले स्थिर, कहिले घटेको तथ्याङ्का प्रकाशित गर्ने गरेको छ । जुन बजारको वास्तविक महँगीसँग मेल खाने खालको हुँदैन ।
‘बजार मूल्य बढिरहेको छ, भाउ नबढेको कुनै वस्तु छैन’ उनी भन्छिन्, ‘तर राष्ट्र बैंकले महँगी घट्यो भनिदिन्छ, त्यहीँ कुरा प्रचार हुन्छ । जबकी, यो कुरा बजारको वास्तविक अवस्थासँग कुनैपनि हालतमा मेल खाने कुरै होइन ।’
बजारको यथार्थ अवस्था आउने गरि राष्ट्र बैंकले अध्ययन नै नगर्ने उनको आरोप छ । खरेलका अनुसार राष्ट्र बैंकले महँगी मापन गर्ने विधि नै फेर्नुपर्ने आवश्यकता बढेर गएको छ ।
‘केन्द्रीय बैंकको अध्ययन रिपोर्टका आधारमा उपभोक्ता नीतिहरु बन्ने हुन्, तर रिपोर्ट नै वास्तविकताभन्दा बाहिरबाट आउँदा उपभोक्ता नीति नै उपभोक्तामैत्री बन्न सक्दैनन्’ उनले थपिन्, ‘अरु विषयमा राष्ट्र बैंकको काम गराई के कस्तो छ, त्यो हाम्रो अध्ययनको विषय होइन । तर, उपभोक्ता मूल्यवृद्धिको अध्ययनमा चाहिँ राष्ट्र बैंक चुकेको छ, उसको अध्यन र बजारको वास्ताविक अवस्थाबीच कुनै तादात्म्य देखिँदैन । यो सुधार हुनुपर्छ ।’
मूल्यवृद्धि कसरी मापन हुन्छ ?
केन्द्रीय बैंकले मूल्यवृद्धि मापन गर्न निकै पूराना विधिअन्तर्गत बजार मूल्य सङ्कलन गर्छ र तिनको विश्लेषण गर्छ । यसका लागि राष्ट्र बैंकले करिब १० वर्ष अगाडी नै विभिन्न बजार केन्द्रहरु तोकेको छ । आज पनि यी केन्द्रहरु परिवर्तन भएका छैनन् ।
देशका विभिन्न ६० वटा बजार केन्द्रहरूबाट राष्ट्र बैंकले नियमित रूपमा मूल्य सङ्कलन गर्दै आएको छ । ति बजार केन्द्रहरुबाट कुल ४९६ वटा वस्तु तथा सेवाको मूल्य सङ्कलन गरिन्छ । ४९६ वस्तु तथा सेवामध्ये ४०२ वटा वस्तु हुन् भने ९२ वटा सेवा हुन् ।
वस्तु तथा सेवालाई राष्ट्र बैंकले महँगी अध्ययन गर्न दिने मूल्यभार पनि अझैसम्म १० वर्ष अगाडीकै कायम छ । जबकी, १० वर्षअघि र अहिले परिस्थिति र बजारको प्रकृति नै परिवर्तन भइसकेकाले वस्तु तथा सेवालाई दिइएको मूल्यभार परिमार्जन नगर्दा राष्ट्र बैंकले सार्वजनिक गर्ने महँगीको अवस्था र बजारको वास्तविक अवस्थाबीच मेल नखाएको हुन सक्ने राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापा बताउँछन् ।
अर्कोतर्फ, सबै किमिसका बजार भाउलाई फरक फरक रुपमा विश्लेषण नगरी एउटै विधिमा हालेर औसत निकाल्ने गरिँदा पनि त्यसले वास्तविक दर देखाउन नसकेको बताइन्छ ।
‘एकदमै धेरै मूल्य बढेको र कम मूल्य बढेकोलाई एउटै विधिमा हालिन्छ, अनि औसत निकालिन्छ’ एक जना जानकार भन्छन्, ‘यसो हुँदा पनि मृल्यवृद्धि कम देखिन गएको हुन सक्छ ।’
महँगी मापन विधि फेर्दै राष्ट्र बैंक
केन्द्रीय बैंकले वि.सं. २०१४ सालदेखि काठमाडौँ उपत्यकामा विभिन्न १५ थरी वस्तुको मूल्य सङ्कलन गरेर पाक्षिक रूपमा महँगी दर प्रकाशित गर्न थालेको थियो । त्यसपछि २०१९ सालबाट भने तराई क्षेत्रमा पनि यसो गर्न थालियो । २०२० सालदेखि भने पहाडमा मूल्य सङ्कलन गर्ने र औसत दर प्रकाशित गर्ने काम सुरु भयो ।
तर, सुरु सुरुमा अहिलेको जस्तो वस्तु तथा सेवाको मूल्यभार तोकेर त्यसका आधारमा औसत दर निकाल्ने अभ्यास भने थिएन । । आर्थिक वर्ष २०२९/०३० मा पहिलोपटक पारिवारिक बजेट सर्वेक्षण भयो । केन्द्रीय बैंकले हरेक १०÷१० वर्षमा पारिवारिक बजेट सर्वेक्षण गर्दै आएको छ । त्यसमा मान्छेले खपत गर्ने वस्तु तथा सेवाको मूल्यभार तोकिन्छ र त्यसैका आधारमा मूल्य प्रकाशन गर्न गर्ने गरिन्छ ।
जबकी, आजको मितिमा आजभन्दा १० वर्ष अगाडी गरिएको पारिवारिक बजेट सर्वेक्षणका आधारमा महँगी दर अध्ययन गर्दा वस्तु तथा सेवामा तोकिएको मूल्यभार नै मेल नखाने अर्थशास्त्रीहरु बताउँछन् । हालसम्म ५ पटक पारिवारिक बजेट सर्वेक्षण गरिसकेको राष्ट्र बैंकलाई विज्ञहरुले यस्तो सर्वेक्षण हरेक ५/५ वर्षमा गर्न सुझाएका छन् ।
यसैका आधारमा केन्द्रीय बैंकले मूल्यवृद्धिको विश्लेषण गर्ने विधि परिवर्तन गर्ने तयारी अघि बढाएको छ । राष्ट्र बैंकका प्रवक्ता रामु पौडेलका अनुसार यसै वर्षभित्र पारिवारिक बजेट सर्वेक्षण गरेर मूल्यवृद्धिको विधि पनि परिमार्जन गर्ने तयारीमा राष्ट्र बैंक लागिरहेको छ ।
राष्ट्र बैंकले बजार भौतिक बजारलाई मात्रै नभई इकमर्स, अनलाइन हाटबजार, अनलाइन भूक्तानी त्यसमा लाग्ने सेवा शुल्कलाई समेत समेटेर महँगीदर विश्लेषणको नयाँ विधि बनाइने जनाएको छ ।









