नेपाल उद्योग वाणिज्य महासंघ कृषि उद्यम केन्द्र र सिमिटको संयुक्त आयोजनामा काठमाडौंमा नेपालमा लघु, साना तथा मझौला कृषि उद्यमहरुको स्थिति, अवसर र चुनौती विषयक राष्ट्रिय कार्यशाला गोष्ठी सम्पन्न भएको छ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीको प्रमुख आतिथ्यतामा महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालको अध्यक्षतामा उद्घाटन भएको गोष्ठी भदौ २५ र २६ गतेसम्म चलेको हो ।
कार्यक्रममा कृषिमन्त्री अधिकारीले सरकारले कृषिमा आत्मनिर्भर हुने लक्ष्यका साथ २०८१—२०९१ लाई कृषि दशकका रुपमा मनाउन लागेको जानकारी गराए । उनले कृषि उपजको आयात प्रतिस्थापन गर्दै निर्यात बढाउने सम्मको लक्ष्यका साथ कृषि लगानी दशक मनाउन लागिएको जानकारी गराउँदै उक्त गोष्ठी कृषि दशकको लागि मार्गदर्शक बन्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले महासंघले सधैँ लघु, साना तथा मझौला उद्यमीहरुलाई केन्द्रमा राखेर काम गरिरहेको बताउँदै नेपाल बीउ तथा मल परियोजना जस्ता कार्यक्रमहरु निरन्तर हुनुपर्ने बताए ।
कार्यक्रममा कृषि उद्यम केन्द्रका सभापति एवं नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी समिति सदस्य डि.बी. बस्नेतले २०४८ सालमा नेपाल उद्योग वाणिज्य महासंघको कृषिसँग सम्बन्धित एकाईको रुपमा कृषि उद्यम केन्द्र स्थापना भएको बताउँदै यसको नेपालस्थित अमेरिकन सहयोग नियोगको ठूलो भूमिका रहेको बताए ।
स्थापनाकालदेखि हालसम्म ३३ वर्षको यात्रामा कृषि उद्यम केन्द्रले कृषि व्यवसाय प्रवद्र्धनमा महत्वपूर्ण योगदान गरेको साथै यसले नीतिगत पैरवी गर्दै सरकारसँग नीति विकासमा हातेमालो गर्दै थुप्रै नीतिहरु विकासमा कृषि उद्यम केन्द्रको महत्वपूर्ण योगदान रहेको उनको भनाई छ ।
कृषि उद्यम केन्द्रले महासंघले अबलम्बन गरेको सार्वजनिक नीजि साझेदारी अवधारणा अनुरुप नेपाल सरकारसँग साझेदारी गरी “एक गाउँ एक उत्पादन कार्यक्रम (ओभीओपी)” कार्यक्रम सञ्चालनमार्फत स्थानीय उत्पादनलाई प्रवद्र्धन, बजारीकरण, ब्रान्डिङ गर्ने १० वर्षे कार्य सफलतापूर्वक संचालन गरेको स्मरण गराउँदै सभापति बस्नेतले यस्ता कार्यक्रमहरुको अहिले पनि आवश्यकता रहेको बताए ।
सन २०२३ सेप्टेम्बरबाट शुरु भएको सहकार्य अनुसार कृषि उद्यम केन्द्रले फिल्डमा कार्यक्रमहरु सफलतापूर्वका कार्यान्वयन गरिरहेको र अझै राम्रो परिणाम आउने गरी सहकार्यको अन्तिम अवधि नेभेम्बर २०२४ सम्म कार्यान्वयन गरि नै रहने प्रतिबद्धता पनि व्यक्त गरे । सभापति बस्नेतले आगामी दिनमा पनि कार्यक्रमको निरन्तरताको अपेक्षा समेत रहेको बताएका छन् ।
कार्यक्रममा बोल्नुहुँदै कृषि तथा पशुपन्छी मन्त्रालयका सहसचिव सबनम शिवाकोटीले सरकारले घोषणा गरेको कृषि लगानी वर्षमा यस गोष्ठीमा उठान भएका विषय वस्तुलाई समावेश गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् ।
सोहि अवसरमा सिमिटका आवासीय प्रतिनिधी एवं परियोजना संयोजक डा. द्युतीमान चौधरीले सिमिटले लामो समयदेखि मकै बाली लगायतको क्षेत्रमा कार्य गर्दै आइरहेको र हाल महासंघ कृषि उद्यम केन्द्र संगको सहकार्यमा संचालित परियोजनाको परिणाम राम्रो आएकोमा खुशी व्यक्त गरेका छन् ।
इकोनोमिक ग्रोथ अफिस युएसएआइडि नेपालका उपनिर्देशक जुडिथ आल्मोडोभरले नेपाल बिऊ तथा मल परियोजना÷सिमिट र एफएनसिसिआई एइसी संगको सहकार्यमा भएको कामको परिणाम राम्रो देखिएको प्रभावकारी ढंगले परियोजनाबाट भएकोमा सहकार्य सफल भएको अनुभुति भएको र आगामी दिनमा थप सहकार्य हुन सक्ने बताएकी छिन् ।
राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओम देवी मल्लले सहकारीबाट उत्पादित चिया एवं दुधको बजारीकरणमा समस्या भएतापनि अन्य उत्पादनहरुको अन्तराष्ट्रिय व्यापार सफल रहेको जानकारी गराएकी छिन् । उनले सहकारीबाट उत्पादित वार्षिक ५ मेट्रिक टनभन्दा बढी कफी विदेश निर्यात हुने गरेको र सहकारीले नै उत्पादन गरेका वार्षिक ३ अर्ब भन्दा बढीको जडीबुटीको कारोबार हुने गरेको जानकारी दिइन् ।
सहकारीमार्फत ५ सय भन्दा बढी लघु, साना तथा घरेलु उद्योगहरु सफलतापूर्वक सञ्चालन भइरहेको जनाउँदै उनले नेपालमा सहकारीमार्फत ‘कोप मार्ट’हरुको समेत सुरुवात भएको जनाइन् ।
कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्ण बहादुर राउतले देशको रोजगारीको सबैभन्दा धेरै हिस्सा ओगटेको लघु, घरेलु तथा साना उद्योगको योगदान प्रशंसनीय रहको बताए । सरकारले सर्टिफिकेसनमा रहेको समस्या समाधानमा पहल भैरहेको, रैथाने बालीको प्रबद्र्धनमा सरकारले सहयोग गरिरहेको, ईन्नोभेटिभ काम गर्नेलाई पुरस्किृत गर्ने परिपाटिको विकास भएको उनले जानकारी दिए ।
कार्यक्रममा संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति कुसुमदेवी थापाले नेपाल कृषि प्रधान देश भएतापनि कृषिमा आत्मनिर्भर हुन नसकेकोमा दुख व्यक्त गर्दै कृषि क्षेत्रमा रहेको समस्या सबै प्रस्तावित कृषि विधेयकमा समेट्न पहल गर्ने प्रतिवद्धता जनाइन् ।
दुई दिने कार्यशाला गोष्ठीमा लुम्बीनी र सुदूरपश्चिम प्रदेशका कपिलवस्तु, दाङ्ग, बाँके, बर्दिया, कैलाली र कंचनपुरका साथै देशका विभिन्न जिल्लाका कृषि उद्यमी तथा जिल्ला स्तरका उद्योग वाणिज्य संघका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।









