बंगलादेशले भारतसँग बिजुली किने वापत भुक्तानी गर्नु पर्ने १ खर्ब बढी रकम नदिएको खुलासा भएको छ। टाइम्स अफ इन्डियाका अनुसार बंगलादेशले भारतका ५ कम्पनीलाई विजुली किने वापतको १ अर्ब डलर बढी रकम तिर्न बाँकी छ। जुन नेपाली मुद्रा अनुसार १ खर्ब ३४ अर्ब बराबर हो ।
टाइम्स अफ इन्डियामा प्रकाशित रिपोर्ट अनुसार गत जुन ३० सम्मको तथ्यांक अनुसार कुल १ अर्ब डलर बाँकि बक्यौता मध्ये भारतको अडानी ग्रुपले ८० करोड डलर रकम लिन बाँकि छ । अडानी ग्रुपको अडानी पावरलाई बंगलादेशलाई विजुली बेच्नको लागि भारतको झारखण्डमा रहेको १.६ गिगावाट क्षमताको कोइला प्लान्टबाट विद्युत उत्पादन गरि डेडीकेटेड प्रसारण लाइन मार्फत बंगलादेशलाई बेच्दै आएको छ।
त्यस्तै एसईआईएल इनर्जी इन्डियाले १५ करोड डलर पाउन बाँकि रहेको बताईएको छ । यस कम्पनीले बंगलादेशसँग २५० मेगावाट बिजुली बेच्न सम्झौता गरेको छ ।
बाँकि रकम भने एनटीपीसी, पीटीसी इण्डिया र पावर ग्रिड इन्डियाले लिन बाँकि रहेको टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ ।
विद्यार्थी आन्दोलन चर्किएपछि बंगलादेशकी प्रधानमन्त्री शेख हसिना देश छोडेर भारत भागेकी थिइन् । त्यसपछि बंगलादेशमा पूर्व नोबेल शान्ति पुरस्कार विजेता मोहमम्द युनुस खानको नेतृत्वमा अन्तरिम सरकार गठन गरिएको छ । युनुसले यस अघिकी प्रधानमन्त्री हसिनाले गरेका विभिन्न द्विपक्षीय सम्झौताको आलोचना गर्दै आएका छन् । जस मध्येमा अडानीसँगको बिजुली खरिद सम्झौता पनि रहेको छ ।
बंगलादेशले तिर्नु पर्ने बक्यौता बढ्दै आएपछि अडानी ग्रुपका अध्यक्ष गौतम अडानीले आफुले पनि निरन्तर बिजुली दिने र बंगलादेशले पनि नियमित बिजुली दिनु पर्ने बताएका छन् । अहिलेको जस्तै अवस्था कायम रहे द्विपक्षीय व्यापार दिगो नहुने चेतावनी उनले दिएका छन् । कतिपयले भने उनको यो चेतावनीलाई विजुली दिन बन्द गर्ने चेतावनीको रुपमा लिनु पर्ने विश्लेषण गरेका छन् ।
बंगलादेश पछिल्लो समय उर्जा संकटसँग जुधी रहेको छ । बंगलादेशले विजुली खरिद गरे वापत ३.७ अर्ब डलर तिर्न बाँकि रहेको इकोनोमिक टाइम्सले उल्लेख गरेको छ । बंगलादेशले भारत र भुटानसँग विजुली खरिद गर्दै आएको छ भने नेपालबाट पनि ४० मेगावाट बिजुली खरिद गर्ने गरि सम्झौता गर्ने तयारीमा छ ।









