Saturday, July 18, 2026
spot_img

क्लोज आउटमा परेर शेयर लगानीकर्ताले तिरे साढे ६ करोड जरिवाना, जोगिने कसरी ?

spot_img

आर्थिक वर्ष २०८०/८१ मा शेयर लगानीकर्ताले क्लोज आउटमा परेर साढे ६ करोड बढी जरिवाना तिरेका छन् । सिडीएसको तथ्यांक अनुसार शेयर लगानीकर्ताले क्लोज आउटमा परेर ६ करोड ६५ लाख २७ हजार १ सय २७ रुपैयाँ ६२ पैसा जरिवाना तिरेका हुन् ।

गत वर्ष ३३ करोड २६ लाख ३५ हजार ६ सय ३८ रुपैयाँ बराबरको कारोबार क्लोज आउटमा परेको तथ्यांकले देखाएको छ। क्लोजआउटमा परेको शेयर कित्ता भने २९ लाख ७१ हजार ८ सय ९४ रहेको छ।

गत आर्थिक वर्षमा लगानीकर्ताले माघमा सबैभन्दा धेरै जरिवाना तिरेका छन्। २०८० माघमा लगानीकर्ताले १ करोड ४६ लाख २० हजार ६ सय ४८ रुपैयाँ जरिवाना तिरेका छन् भने २०८० पुसमा ९३ लाख ४७ हजार  ६ सय ४१ रुपैयाँ जरिवाना तिरेका छन् । त्यस्तै २०८१ असारमा लगानीकर्ताले ६१ लाख २० हजार १ सय ७९ रुपैयाँ जरिवाना तिरेका हुन् ।

के हो क्लोज आउट, कसरी परिन्छ  ?

शेयर लगानीकर्ताले शेयर बेचेपछि आफुले बेचे परिणाम बराबरको शेयर ट्रान्सफर गर्न नसकेमा क्लोज आउटमा परेको भनिन्छ । शेयर बिक्री गरेपछि शेयर बिक्री गरेको दिन ब्रोकर कम्पनीले भोलिपल्ट मध्यान्ह १२ बजेसम्ममा ईडिआईएस गरेर शेयर ट्रान्सफर गर्न भन्दै मोबाइलमा म्यासेज पठाउँछ । सो समय सम्ममा शेयर ट्रान्सफर नगरेमा २० प्रतिशतको दरले क्लोजआउटको जरिवानामा परिने पनि म्यासेजमा उल्लेख गरिएको हुन्छ ।

कारोबार गरेको भोलिपल्ट मध्यान्ह १२ बजेसम्ममा शेयर ट्रान्सफर नगरे क्लोज आउटमा परिन्छ । तर कतिपय ब्रोकरले शेयर ट्रान्सफर गर्नको लागि कारोबार गरेको भोलिपल्ट दिनभरको समय पनि दिने गरेका छन् ।

क्लोज आउटमा पर्ने अर्को कारण भनेको आफ्नो खातामा रहेको भन्दा धेरै संख्याको शेयर बेच्नु हो । टिएमएस मार्फत अनलाइन कारोबार  गर्दा आफु सँग भएको भन्दा धेरै संख्याको शेयर बिक्रीको लागि अर्डर राखेमा सिस्टमले अर्डर नै लिदैन। तर फोन, एसएमएस मार्फत ब्रोकरलाई भनेर कारोबार गर्दा भएको भन्दा बढी शेयर बिक्री हुन सक्छ । हुँदै नभएको शेयर बिक्री गरेपछि ट्रान्सफर गर्न सकिने कुरै भएन। अनि क्लोजआउटमा परिन्छ ।

क्लोजआउटबाट कसरी जोगिने ?

क्लोजआउट बाट जोगिनको लागि शेयर बिक्री गर्ने बेलामा आफुसँग कति शेयर छ भनेर यकिन गर्नु पर्छ । आफुसँग भएको शेयर संख्या यकिन गर्नको लागि मेरोशेयर खोलेर मेरोशेयरमा देब्रेपट्टि मेनुमा रहेको माईशेयरमा क्लिक गर्नु पर्छ । त्यहाँ आफुसँग भएको शेयरहरु देखाउछ । त्यहा देखिने सबै शेयर बेच्न मिल्दैन । बेच्न मिल्ने शेयरहरु free balance मा देखिएको हुन्छ । फ्री ब्यालेन्समा देखिएको शेयर मात्र बेच्न मिल्छ ।

यसको साथै आफ्नो टिएमएसमा पनि आफ्नो शेयर संख्या यकिन गर्नु पर्छ । मेरोशेयरमा शेयर आएको भोलिपल्ट मात्र टिएमएसमा देखाउने भएकोले टिएमएसमा शेयर संख्या यकिन गर्नुपर्छ ।

क्लोजआउटबाट जोगिन आफुसँग भएको शेयर संख्या यकिन गरेर मात्र बिक्री गर्नु पर्छ भने शेयर बिक्री गरिसकेपछि मेरोशेयर मार्फत कारोबार गरेको भोलिपल्ट मध्यान्ह १२ बजेसम्म शेयर ट्रान्सफर गरिसक्नुपर्छ । शेयर बिक्री गरेको दिन साँझ नै शेयर ट्रान्सफरको लागि मेरोशेयरमा आईसकेको हुन्छ । आफुले शेयर खरिद गरेको भारित औसत मूल्य wacc र आफुले कति दिन शेयर धारण गरेको हो (Holding days) अपडेट गरेर मेरो शेयरबाट शेयर ट्रान्सफर गर्नुपर्छ ।

शेयर ट्रान्सफर गर्नको लागि मेरोशेयर चाहिने भएकोले साथै मेरोशेयर अध्यावधिक रहनी रहनु महत्वपूर्ण हुन्छ । जसका  लागि लगानीकर्ताको डिम्याट र मेरोशेयर नवीकरण गरेको हुनु पर्छ । डिम्याट हरेक आर्थिक वर्षमा नवीकरण गर्नु पर्छ भने मेरोशेयर हरेक वर्ष नवीकरण गर्नु पर्छ । यदि डिम्याट र मेरोशेयर नवीकरण छैन भने मेरोशेयर खुल्दैन, र शेयर ट्रान्सफर गर्न सकिदैन । शेयर ट्रान्सफर नगरे क्लोज आउटमा परिन्छ ।

अन्तराष्ट्रिय रुपमा क्लोज आउटको समस्या भनेको अक्सन मार्केट नै हो । तर नेपालमा भने हालसम्म अक्सन मार्केट संचालनमा आउन सकेको छैन ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

इन्धन र बिजुलीमा अतिरिक्त शुल्क उठाउन यातायात व्यवसायीको सुझाव

यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले...

महासंघको रोजगारदाता परिषदले पूर्णता पायो, बाबुकाजी कार्की बने उपसभापति

नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत निजी क्षेत्रको श्रम तथा...

मंसिरमा ‘अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी’ आयोजना हुने, स्टल बुकिङ खुला

नेपालको कृषि क्षेत्रलाई आधुनिकीकरण, यान्त्रीकरण र व्यवसायीकरण गर्ने उद्देश्यका...

७० प्रतिशत रोपाइँ सकियो

असार सकिँदासम्म यस वर्ष ७० प्रतिशत धान रोपाइँ सकिएको...

राष्ट्र बैंक ऐन संशोधनबारे सिबिफिन र बैंकर्स संघसँग छलफल गर्दै अर्थ समिति

प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले नेपाल राष्ट्र बैंक ऐन २०५८...

एनटीसीको सिम हराएको छ ? अब अनलाइनबाटै दिन सकिन्छ आवेदन

नेपाल टेलिकमले सिमकार्ड हराएमा वा बिग्रेमा अनलाइबाटै आवेदन दिन...
spot_img