संसदको अर्थ समितिले भोटेकोशी बाढीबाट अर्थतन्त्रमा परेको प्रभाव अध्ययन गर्न उपसमिति गठन गरेको छ । आज बसेको अर्थ समितिको बैठकले सुशील खड्काको संयोजकत्वमा उपसमिति गठन गरेको हो ।
उपसमितिको सदस्यमा नरेन्द्र कुमार केरुङ, परशुराम तामाङ्ग, पुष्पा कुमारी चौधरी, प्रा.डा. पुष्पराज कँडेल, लिमा अधिकारी, र सुशान्त बैदिक रहेका छन् । उपसमितिले कार्यप्रारम्भ गरेको मितिले १० दिनभित्र समितिमा प्रतिवेदन पेश गर्ने छ।
उपसमितिलाई रसुवा बाढीबाट अर्थतन्त्रमा परेको प्रभाव एवं जलवायु वित्तसम्बन्धी अध्ययन, विश्लेषण गरी सम्बन्धित निकायलाई दिनुपर्ने सुझाव निर्देशन/सहितको प्रतिवेदन पेश गर्ने जिम्मेवारी तोकिएको छ । उपसमितिले आफ्नो कार्यविधि आफै निर्धारण गर्ने, र आफ्नो कार्यक्षेत्रसँग सम्बन्धित विषयहरूमा आवश्यकता अनुसार स्थलगत अनुगमन गर्ने छ । उपसमितिले २०८३ असोज २ गतेभित्र समितिमा प्रतिवेदन पेश गर्नु पर्ने छ।
समितिको आजको बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्ट, अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्याय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेती र उक्त निकायका सहसचिवहरूको उपस्थिति रहेको थियो। बैठकमा रसुवा बाढी पश्चात् नेपाल सरकारबाट हालसम्म भएगरेका उद्दार, राहत वितरण तथा पुन: स्थापनाका प्रयासहरू, विपद्बाट समग्र अर्थतन्त्रमा परेको प्रभाव एवं विपद्को क्षति र प्रभावको मूल्याङ्कन (PDNA) एवं विविध विषयहरुमा छलफल भएको थियो।









