किष्ट शिक्षण अस्पतालअन्तर्गतको किष्ट प्रत्यारोपण केन्द्रले ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण गरेको छ । प्रत्यारोपणपछि आवश्यक उपचार तथा विशेषज्ञ निगरानी पूरा भएपछि बालिकालाई अस्पतालबाट सफलतापूर्वक डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।
बालिकाकी ३३ वर्षीया आमाले आफ्नै कलेजोको केही हिस्सा छोरीलाई दान गरेकी हुन् । सफल प्रत्यारोपणपछि बालिकाको स्वास्थ्य अवस्था स्थिर तथा सन्तोषजनक रहेको र आवश्यक उपचार तथा विशेषज्ञ निगरानीपछि उनलाई घर पठाइएको अस्पतालले जनाएको छ ।
अस्पतालका अनुसार यो सफलता जटिल शल्यक्रियाको उपलब्धि मात्र नभई आमाको त्याग, परिवारको आशा र चिकित्सकीय टोलीको समर्पणसँग जोडिएको नयाँ जीवनको कथा हो ।
नेपालमै जटिल प्रत्यारोपण उपचारको सुविधा विस्तार गर्ने उद्देश्यले किष्ट प्रत्यारोपण केन्द्रले आधुनिक पूर्वाधार, अनुभवी विशेषज्ञ टोली, शल्यक्रिया सुविधा, सघन उपचार तथा विभिन्न विधाका चिकित्सकबीचको समन्वयमा उपचार सेवा प्रदान गर्दै आएको छ ।
केन्द्रले प्रत्यारोपण शल्यक्रियामा मात्र नभई प्रत्यारोपणअघि, प्रत्यारोपणका क्रममा र प्रत्यारोपणपछि आवश्यक सम्पूर्ण उपचारलाई समेट्ने समन्वित बहुविषयगत उपचार प्रणालीलाई आफ्नो महत्वपूर्ण पक्षका रूपमा अघि बढाएको जनाएको छ ।
एक आमाले आफ्नो कलेजोको हिस्सा दिएर छोरीलाई नयाँ जीवनको अवसर दिएकी छन् भने किष्टको विशेषज्ञ चिकित्सकीय टोलीले त्यसलाई सफल प्रत्यारोपणमार्फत सार्थक बनाएको अस्पतालको भनाइ छ ।
५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपणलाई किष्ट शिक्षण अस्पतालले आफ्नो प्रत्यारोपण सेवाको अर्को महत्वपूर्ण उपलब्धिका रूपमा लिएको छ । अस्पतालले आगामी दिनमा पनि बालबालिकासहित जटिल बिरामीका लागि उन्नत प्रत्यारोपण सेवा विस्तार गर्दै नेपालमै गुणस्तरीय उपचार उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।









