भोटेकोशी बाढीका कारण अति प्रभावित १५ स्थानीय तह ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषित भएका छन् । यसअघि मन्त्रिपरिषदले ५ जिल्लाका १५ स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेकोमा उक्त निर्णय राजपत्रमा प्रकाशित भएको हो ।
गृह मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गरेको हो । जस अनुसार रसुवाका ४, नुवाकोटका ४, धादिङका ४, तनहुँका २ र गोरखाका १ स्थानीय तहलाई तीन महिनाका लागि ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषित भएका छन् ।
रसुवाको उत्तरगया गाउँपालिका, गोसाइँकुण्ड गाउँपालिका, कालिका गाउँपालिका र आमाछोदिङमो गाउँपालिका, नुवाकोटको विदुर नगरपालिका, बेलकोटगढी नगरपालिका, किस्पाङ गाउँपालिका र तारकेश्वर गाउँपालिका विपद् संकटग्रस्त क्षेत्र घोषित भएका छन् ।
धादिङको गल्छी गाउँपालिका, सिद्धलेक गाउँपालिका, गजुरी गाउँपालिका र बेनीघाट रोराङ गाउँपालिका, तनहुँको देवघाट गाउँपालिका र आँबुखैरेनी गाउँपालिका र गोरखाको गण्डकी गाउँपालिका पनि विपद् संकटग्रस्त क्षेत्रमा परेका छन् ।











