चिनियाँ अटोमोबाइल ब्रान्ड चांगानको उत्पादन ‘दीपल नेभो क्यूो५’ नेपालमा सार्वजनिक भएको छ । नेपालका लागि चांगानको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धिले दीपल नेभो क्यूओ५ लाई नेपाली बजारमा प्रवेश गराएको हो ।
कम्पनीले यस ईभीको सुरुवाती मूल्य ४६ लाख ९९ हजार रुपैयाँ तोकेको छ ।
दुइ भेरियन्टमा नेपाल आएको नेभो क्यूओ५ मा म्याक्स भेरियन्टको मूल्य नाडा अटो शो अवधिको मूल्य ४६ लाख ९९ हजार रुपैयाँ र अल्ट्रा भेरियन्टको मूल्य ४९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । अटो शो सकिएपछि म्याक्सको मूल्य ४८ लाख ९९ हजार र अल्ट्राको ५१ लाख ९९ हजार रुपैयाँ पुग्ने कम्पनीले जनाएको छ।
नेभो क्यूओ५ मा ५१.९ किलोवाट आवरको ‘गोल्डेन शिल्ड २.०’ एलएफपी ब्याट्री प्याक र १२० किलोवाटको इलेक्ट्रिक मोटर दिइएको छ । मोटरले १६३ हर्सपावर र १९० न्युटन मिटर टर्क उत्पादन गर्ने बताइएको छ । कम्पनीका अनुसार यसले शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको गति ८.२ सेकेन्डमा पूरा गर्छ ।
एक पटकको फुल चार्जमा ४६२ किलोमिटर रेन्ज दिने दाबी गरिएको यस ईभीले १६२ किलोवाटसम्मको डीसी फास्ट चार्जर सर्पोट गर्छ । यो ईभीको ब्याट्री ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न करिब १५ मिनेट लाग्ने कम्पनीको भनाइ छ ।
यो ईभी आधुनिक विशेषताले भरिपूर्ण रहेकाले नेपाली बजारमा यसले आक्रामक उपस्थिति जनाउने अपेक्षा गरिएको छ ।












