नेपालमा पहिलोपटक निजी अस्पतालको संरचनामा ५ वर्षीया बालिकाको सफल ‘बाल कलेजो प्रत्यारोपण’ गरिएको छ । किष्ट प्रत्यारोपण केन्द्रले सम्पन्न गरेको यस सफल प्रत्यारोपणले नेपालमा बाल कलेजो प्रत्यारोपण सेवाको विकासतर्फ महत्वपूर्ण उपलब्धि हासिल गरेको छ ।
विल्सन रोगका कारण गम्भीर स्वास्थ्य अवस्थामा पुगेकी बालिकालाई उपचारका लागि किष्ट शिक्षण अस्पतालमा ल्याइएको थियो । प्रत्यारोपणअघि उनको स्वास्थ्य अवस्था निकै जटिल रहेको थियो । करिब एक महिनासम्म विभिन्न विशेषज्ञ चिकित्सकको संयुक्त उपचार, सघन उपचार तथा निरन्तर निगरानीमार्फत स्वास्थ्य अवस्था स्थिर बनाएपछि कलेजो प्रत्यारोपण गरिएको हो ।
२०८३ भदौ २ गते ३३ वर्षीया आमाले आफ्नी ५ वर्षीया छोरीलाई आफ्नो कलेजोको एक अंश दान गरेकी थिइन् । आमाबाट छोरीमा गरिएको जीवित दाता कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको हो ।
बाल कलेजो प्रत्यारोपण अत्यन्त जटिल र चुनौतीपूर्ण चिकित्सा प्रक्रिया मानिन्छ । यसका लागि अनुभवी प्रत्यारोपण शल्यचिकित्सक, कलेजो रोग विशेषज्ञ, बेहोस बनाउने चिकित्सक, बालरोग विशेषज्ञ, सघन उपचार टोली तथा अत्याधुनिक चिकित्सा पूर्वाधार आवश्यक हुन्छ । किष्ट प्रत्यारोपण केन्द्रको विभिन्न विशेषज्ञ सम्मिलित टोलीले आपसी समन्वयमा उक्त जटिल उपचार सफलतापूर्वक सम्पन्न गरेको जनाएको छ ।
यस सफलतासँगै किष्ट प्रत्यारोपण केन्द्रले आगामी दिनमा बाल उपचार केन्द्रका रूपमा समेत सेवा विस्तार गर्दै बालबालिकाका लागि विभिन्न विशेषज्ञ सम्मिलित उपचार सेवा उपलब्ध गराउने लक्ष्य लिएको छ ।
एउटी आमाको त्याग, चिकित्सकहरूको समर्पण र आधुनिक चिकित्सा सेवाबीचको समन्वयले ५ वर्षीया बालिकालाई नयाँ जीवनको अवसर दिएको छ । यो सफलता किष्ट प्रत्यारोपण केन्द्रका लागि मात्र नभई नेपालमा बाल कलेजो प्रत्यारोपण सेवाको विस्तार र विकासतर्फ महत्वपूर्ण कदमका रूपमा रहने विश्वास गरिएको छ ।









