जेमिनी रिसाइकल नेपाल लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने प्रक्रिया औपचारिक रूपमा सुरु गरेको छ । मोरङको बुढीगंगा–५ स्थित हात्तीमुढामा सम्पन्न कम्पनीको विशेष साधारण सभाले पूँजी विस्तार र भविष्यको व्यवसायिक रणनीतिका सम्बन्धमा महत्वपूर्ण निर्णयहरू गरेको हो ।
कम्पनीले आफ्नो कुल ५० करोड रुपैयाँ जारी पूँजीको २० प्रतिशतले हुन आउने १० लाख कित्ता शेयर सर्वसाधारणमा जारी गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । यससँगै कम्पनीले संस्थापक शेयरको मूल्य पनि निर्धारण गरेको छ । १०० रुपैयाँ अंकित मूल्यमा ९० रुपैयाँ प्रिमियम थपेर संस्थापक शेयरको मूल्य प्रति कित्ता १९० रुपैयाँ कायम गर्ने निर्णय सभाले गरेको छ ।
ईभी ब्याट्री रिसाइकलः एक रणनीतिक फड्को
परम्परागत रिसाइकलिङ व्यवसायबाट माथि उठ्दै जेमिनीले नेपालमा बढ्दो विद्युतीय सवारीसाधनको प्रयोगलाई व्यावसायिक अवसरका रूपमा उपयोग गर्ने योजना बनाएको छ । हाल पुराना ब्याट्री र प्लास्टिक प्रशोधन गर्दै आएको कम्पनीले अब ‘फ्युचर प्लान’ अन्तर्गत प्रयोग भइसकेका ईभी ब्याट्रीहरूको रिसाइकलिङ गर्ने लक्ष्य लिएको हो ।
नेपालमा ईभीको आकर्षण तीव्र गतिमा बढिरहेकाले भविष्यमा पुराना ब्याट्रीको व्यवस्थापन चुनौती बन्छ कि भन्ने चिन्ता प्रकट भइरहेका बेला कम्पनीले उक्त ब्याट्रीहरूलाई पुनः प्रशोधन गरी उपयोगी कच्चा पदार्थमा रूपान्तरण गर्ने आधुनिक प्रविधि भित्र्याउने तयारी गरेको छ ।
उत्पादन र निर्यातको वर्तमान अवस्था
जेमिनी रिसाइकलले हाल पुराना ब्याट्रीबाट रिमेल्टेड र रिफाइन्ड लिड उत्पादन गर्दै आएको छ। साथै, आल्मुनियम र कपर स्क्र्यापको प्रशोधन तथा पुराना प्लास्टिकलाई प्रशोधन गरी दाना र चिप्स बनाउने काम गरिरहेको छ । कम्पनीका अधिकांश उत्पादनहरू भारतीय बजारमा निर्यात हुने गरेका छन् ।
फोहोरलाई औद्योगिक कच्चा पदार्थमा बदल्ने यो व्यवसायले नेपालको व्यापार घाटा न्यूनिकरणमा समेत योगदान पुर्याएको छ ।
व्यवसायिक नेतृत्व र लगानीको आधार
कम्पनीको नेतृत्व व्यवसायिक घरानाका अनुभवी व्यक्तित्व दिवाकर राठीले गरिरहेका छन् भने संचालक समितिमा अटो व्यवसायी आकाश गोल्छा र विल किशोर मेन्याङ्गबो रहेका छन् । व्यक्तिका अतिरिक्त कम्पनीमा टप फन्ड लिमिटेड, स्टार फण्ड इन्भेष्टमेन्ट र हारवेस्ट भेन्चर्स जस्ता संस्थागत लगानीकर्ताहरूको सहभागिता छ ।
‘सफा शहर’ को परिकल्पना र डिजिटल प्रयास
कम्पनीले वातावरण संरक्षणलाई केन्द्रमा राख्दै पब्लिक–प्राइभेट पार्टनरसिप (पीपीपी) मोडलमा काम गर्ने योजना अघि सारेको छ । घर, कार्यालय र उद्योगहरूबाट निस्कने फोहोरलाई व्यवस्थित रूपमा संकलन गर्न कम्पनीले छुट्टै मोबाइल एप निर्माण गर्ने लक्ष्य राखेको छ । एपमार्फत घरदैलोबाटै फोहोर संकलन गरी त्यसलाई प्रशोधन केन्द्रसम्म पुर्याउने र शहरलाई स्वच्छ राख्न सघाउने कम्पनीको दीर्घकालीन सोच छ ।
आगामी दिनमा आईपीओमार्फत सर्वसाधारणलाई लगानीको अवसर दिँदै र प्रविधिमा आधारित रिसाइकलिङमा लगानी बढाउँदै जेमिनी रिसाइकल नेपालले देशको अर्थतन्त्र र वातावरण दुवैमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।









