एबीपी इनर्जी प्रालिबाट पब्लिक कम्पनीमा परिणत भएको छ । कम्पनीका अध्यक्ष पूर्णलाल श्रेष्ठले कम्पनीलाई प्रालिबाट पब्लिकमा परिणत गराएर कम्पनी रजिष्ट्रार कार्यालयबाट प्रमाणपत्र प्राप्त गरेको जानकारी दिएका हुन्। यससंगै अब कम्पनीले आईपीओ निष्काशन गर्ने प्रक्रिया सुरु गर्ने छ।
यस कम्पनीले नुवाकोटको दुप्चेश्वर गाउँपालिका-१ ताँदीमा ८ मेगावाटको ताँदी घ्याङफेदी जलविद्युत आयोजना निर्माण गरिरहेको छ। यो जलविद्युत आयोजनाको प्रतिमेगावाट लागत २० करोड ५ लाख रुपैयाँ रहेको छ । आयोजनाबाट २०८४ बैशाख मसान्तमा व्यवसायिक उत्पादनको लक्ष्य छ।
आयोजनामा सिद्धार्थ बैंकले ऋण लगानी गर्ने गरि सम्झौता भईसकेको छ। आयोजनाको कुल लागत १ अर्ब ६४ करोड रहेकोमा सिद्धार्थ बैंकले १ अर्ब २३ करोड ऋण लगानी गर्ने छ।
आयोजनाबाट उत्पादित बिजुली हिउँदयाममा प्रति युनिट ८ रुपैयाँ ४० पैसा, तथा वर्षायाममा प्रति युनिट ४ रुपैयाँ ८० पैसामा प्राधिकरणले खरिद गर्ने गरि नेपाल विद्युत प्राधिकरणसँग पीपीए सम्झौता भईसकेको छ ।
यो ८ मेगावाट जडित क्षमता भएको परियोजना हो । प्रस्तावित जलविद्युत् आयोजनाको ग्रस हेड ४४६ मिटर रहेको छ । यो जलविद्युत आयोजनाका लागि २२८१.३६ मिटर हेडरेस पाइप राखिनेछ । १६३२.०८ मिटर पेनस्टक पाइप निर्माण गरिनेछ । उत्पादित विद्युत् ३३ केभी सिंगल सर्किटको १० किमी प्रसारणलाइन निर्माण गरेर समुन्द्रटार सबस्टेसनमा जोडिनेछ ।
कम्पनीमा पूर्णलाल श्रेष्ठ, इप्पानका पूर्व महासचिव बलराम खतिवडा, र सूचना प्रविधि विज्ञ असगर अलिको मुख्य लगानी रहेको छ।









