दीपक थपलिया
यो लेख लेख्नुपर्ने प्रेरणा एउटा घटनाले दियो ।
हालै एउटा एम्बुलेन्सले टिन्टेड ग्लास भएकै कारण दर्ता नम्बर पाउन नसकेको भन्ने जानकारी पाएँ । सम्बन्धित निकायको तर्क थियो—ग्लास टिन्टेड भएकाले दर्ता गर्न मिल्दैन ।
यो सुनेपछि एउटा सरल तर गम्भीर प्रश्न मनमा आयो । यदि, त्यही ठाउँमा सिसाको सट्टा फलामको पाता लगाएर पूर्ण रूपमा बन्द गरिएको भए, जहाँ बाहिरबाट केही पनि देखिँदैन, के यो नियम लागू हुन्थ्यो ? सम्भवतः हुँदैन, किनभने त्यो “ग्लास” थिएन, फलाम थियो । यदि कानूनको उद्देश्य सुरक्षा र आवश्यक दृश्यता सुनिश्चित गर्नु हो भने, निश्चित प्रतिशत प्रकाश छिर्ने टिन्टेड ग्लासभन्दा पूर्ण रूपमा बन्द फलामको संरचना कसरी बढी स्वीकार्य हुन सक्छ ?
अझ अर्को तथ्य पनि विचारणीय छ । आज धेरै विकसित देशहरूले सवारी साधनमा टिन्टेड ग्लास पूर्ण प्रतिबन्धको सट्टा Visible Light Transmission (VLT) अर्थात् निश्चित प्रतिशत प्रकाश पार हुने वैज्ञानिक मापदण्ड अपनाएका छन् । विश्वभर सञ्चालन हुने धेरै आधुनिक एम्बुलेन्सहरू पनि निर्माता कम्पनीबाटै निश्चित VLT भएको टिन्टेड वा प्राइभेसी ग्लाससहित डिजाइन गरिएका हुन्छन् । यसको उद्देश्य अपराध लुकाउनु होइन, बिरामीको गोपनीयताको संरक्षण, कडा घाम तथा UV किरणबाट सुरक्षा, गाडीभित्रको तापक्रम नियन्त्रण र बिरामी तथा स्वास्थ्यकर्मीका लागि सुरक्षित तथा सहज वातावरण सुनिश्चित गर्नु हो ।
यसैले वास्तविक प्रश्न “टिन्टेड ग्लास छ कि छैन ?” भन्ने होइन । वास्तविक प्रश्न “त्यो वैज्ञानिक मापदण्डभित्र छ कि छैन ?” भन्ने हो ।
यही घटनाले मलाई अर्को प्रसिद्ध कथा पनि सम्झायो ।
भनिन्छ, कोटको बाहुलामा रहेका चार वटा बटन सुरुमा सैनिकहरूले बाहुलामा नाक नपुछून् (सिँगान नपुछुन्) भनेर राखिएका थिए । समयसँगै सरसफाइ, अनुशासन र सामाजिक व्यवहार परिवर्तन भए । त्यो आवश्यकता हरायो, तर ती चार वटा बटन भने आज पनि कोटमा छन् । अहिले तिनको भूमिका मुख्यतः परम्परा र डिजाइनमा सीमित छ ।
कहिलेकाहीँ लाग्छ, केही नीति र कानूनहरू पनि यस्तै भएका त छैनन् ?
नेपालमा कुनै पनि कानून वा प्रतिबन्ध लागू गर्दा हामीले नेपालको आफ्नै अवस्था, आवश्यकता र वैज्ञानिक कारण खोजेर त्यस अनुसार गर्नुपर्छ । कुनै अर्को देशमा लागू गरिएको नियम त्यहाँको अपराधको अवस्था, सुरक्षा चुनौती, हावापानी वा सामाजिक संरचनाका कारण आवश्यक हुन सक्छ । तर त्यही नियम नेपालको सन्दर्भमा पनि उस्तै आवश्यक छ भन्ने निष्कर्षमा पुग्नुअघि तथ्य र अनुसन्धानका आधारमा मूल्याङ्कन हुनु आवश्यक छ ।
उदाहरणका रूपमा टिन्टेड ग्लासको विषयलाई हेरौँ ।
कतिपय देशहरूमा कारबाट हुने गोलीकाण्ड, संगठित अपराध, सीमापार तस्करी तथा सुरक्षा चुनौतीका कारण अत्यधिक कालो सिसामाथि कडा नियन्त्रण गरियो । तर समयसँगै धेरै देशहरूले पूर्ण प्रतिबन्धभन्दा वैज्ञानिक VLT मापदण्डलाई प्राथमिकता दिएका छन् ।
गुणस्तरीय मापदण्डभित्रको टिन्टेड ग्लासले हानिकारक UV किरणबाट सुरक्षा दिन्छ । गाडीभित्रको तापक्रम घटाउँछ । EV मा AC को लोड कम गरी ऊर्जा दक्षतामा सहयोग पुर्याउँछ । ICE गाडीमा इन्धन बचतमा योगदान दिन्छ । बालबालिका, ज्येष्ठ नागरिक तथा लामो यात्राका यात्रुहरूलाई थप सहज बनाउँछ ।
यदि अत्यधिक कालो टिन्टले सुरक्षा जोखिम सिर्जना गर्छ भने त्यसलाई वैज्ञानिक VLT मापदण्डमार्फत नियमन गर्न सकिन्छ । Blanket Ban नै एकमात्र समाधान हुनुपर्छ भन्ने आवश्यक छैन ।
मेरो उद्देश्य कुनै कानूनको विरोध गर्नु होइन । मेरो आग्रह केवल यति हो— डर होइन, तथ्यका आधारमा बहस गरौँ । विदेशी उदाहरणभन्दा नेपाली यथार्थलाई प्राथमिकता दिऔँ । Blanket Restriction भन्दा Smart Regulation रोजौँ ।
कतै हामी पनि कोटको बाहुलाका चार वटा बटनझैँ आजको आवश्यकता भन्दा बढी हिजोको सोच र परम्परा मात्र बोकेर हिँडिरहेका त छैनौँ ?
दीपक थपलिया लक्ष्मी हुन्डाईका महाप्रबन्धक हुन् ।









