रोशी खोलामा पानीको सतह बढ्दै गएपछि बीपी राजमार्गमा सवारी आवागमन बन्द गरिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार राजमार्गको काभ्रेपलाञ्चोक खण्डमा सवारी आवागमन बन्द गरिएको हो ।
आइतबार दिउँदो ३ बजेदेखि ठूलो पानी पर्न थालेको र दाप्चा लगायतका खोलामा आएको बाढी रोशी खोलामा मिसिएर पानीको सतह बढ्न थालेको प्रहरीले जनाएको छ । त्यसअघि दाप्चाखोलामा आएको बाढीले राजमार्गको डाइभर्सन नै बगाएको छ । बाढीले राजमार्गको चौकीडाडा र घुमाउने खण्डमा क्षति गरेको छ ।
सवारीसाधनलाई काभ्रेपलाञ्चोक तर्फ काभ्रेभञ्ज्याङ र मंगलटारमा होल्ड गरिएको छ भने सिन्धुली तर्फ दुम्जा (नेपालथोक)मा होल्ड गरिएको छ ।









