अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को उच्चस्तरीय प्रतिनिधिमण्डलले नेपाल सरकारका उच्च अधिकारी तथा विभिन्न सरोकारवाला निकायसँग अर्थतन्त्र, आर्थिक सुधार र विकासका प्राथमिकताबारे छलफल गरेको छ ।
आईएमएफको एशिया तथा प्रशान्त विभागकी उपनिर्देशक डा. सोनाली जैन चन्द्रको नेतृत्वमा नेपालका लागि आईएमएफ मिसन प्रमुख डा. सरवत जहाँ र नेपालस्थित आवासीय प्रतिनिधि प्रणव गुप्ता सहितको टोलीले छलफल गरेको हो ।
टोलीले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्ट, नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलसँग भेटवार्ता गरेको थियो । भेटमा नेपालको पछिल्लो आर्थिक अवस्था, समष्टिगत आर्थिक परिदृश्य तथा आर्थिक वृद्धि दिगो बनाउने, रोजगारी सिर्जना गर्ने र संरचनात्मक सुधारलाई अघि बढाउने नीतिगत प्राथमिकताबारे छलफल भएको आईएमएफले जनाएको छ ।
प्रतिनिधिमण्डलले संघीय संसद अन्तर्गतको अर्थ समितिका सदस्यहरूसँग पनि अन्तरक्रियात्मक छलफल गरेको थियो । सो अवसरमा आईएमएफले नेपालसँगको सहकार्य, हालै सम्पन्न विस्तारित कर्जा सुविधा कार्यक्रम तथा समष्टिगत र संरचनात्मक आर्थिक नीतिका विषयमा जानकारी गराएको थियो ।
आईएमएफका अनुसार छलफल खुला, रचनात्मक र जानकारीमूलक रहेको तथा सांसदहरूले नेपालको आर्थिक प्राथमिकता, सुधार एजेन्डा र नीतिगत विषयमा आफ्ना धारणा, सुझाव तथा चासो राखेका थिए ।
भ्रमणको समापनमा टोली प्रमुख डा. जैन चन्द्रले नेपाल सरकार र सरोकारवालाबाट प्राप्त आतिथ्यप्रति आभार व्यक्त गर्दै अर्थमन्त्री, योजना आयोगका उपाध्यक्ष, नेपाल राष्ट्र बैंकका गभर्नर, अर्थ समितिका सदस्य तथा अन्य सरोकारवालासँग भएको छलफल निकै फलदायी, दूरदर्शी र जानकारीमूलक रहेको बताइन् ।
उनले विभिन्न पक्षका धारणा सुन्ने अवसरलाई आईएमएफले उच्च मूल्याङ्कन गर्ने उल्लेख गर्दै नेपालको आर्थिक विकास र सुधार प्रयासलाई सहयोग गर्न आगामी दिनमा पनि निकट सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिन् ।
भ्रमणका क्रममा आईएमएफ टोलीले थिंक ट्यांक, नागरिक समाज, शैक्षिक क्षेत्र तथा ुजेन–जेडु समुदायका प्रतिनिधिहरूसँग पनि छलफल गरेको थियो ।
आईएमएफले सन् १९६१ देखि नेपालसँग सहकार्य गर्दै आएको उल्लेख गर्दै यस भ्रमणले नेपालसँगको दीर्घकालीन साझेदारीलाई थप सुदृढ बनाएको र दिगो तथा समावेशी आर्थिक वृद्धिका लागि सरकार तथा सरोकारवालासँग रचनात्मक संवादलाई निरन्तरता दिने प्रतिबद्धता पुनः पुष्टि गरेको जनाइएको छ ।









