अर्थमन्त्री डा. स्वर्णिम वाग्ले शेयरबजारका केही लगानीकर्तामा भय त्रास भएको हुन सक्ने बताएका छन्। आज संसदमा आर्थिक विधेयक माथि विचार गरियोस् भन्ने प्रस्तावका छलफलमा उठेको प्रश्नका जवाफ दिंदै उनले यस्तो बताएका हुन् ।
मन्त्री वाग्लेले हालै १ खर्ब बढीको बिगो माग गर्दै आर्थिक विचलनको मुद्दा दायर भएको र त्यसको केन्द्रमा पुँजीबजार, बीमा, स्टक रहेको बताए । देशै हल्लाउने र भित्र भित्रै मक्किसकेको यो ठूलो विचलनलाई सरकारले ट्रयाकमा ल्याउन लागेको उनले उल्लेख गरे ।
अनुसन्धानको दायरा बढ्दै जाँदा म पनि पर्छु कि वा हामी पनि तानिन्छौँ कि भन्ने भय त्रास केही लगानीकर्तामा भएको हुन सक्ने उनले उल्लेख गरे । उनले गुड गभर्नेन्समा निर्मम ढङ्गले अघि बढ्दै जाँदा विगतमा १०-१५ वर्षका आचरणगत निगतगत कुराहरुबाट केही लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेको उनले बताए । नियम अनुसार गर्नेहरु सरकारको सारथी रहेकोले डराउनु नपर्ने उनको आशय थियो।
उनले सरकारले घण्टा घण्टाको शेयरबजारको सूचक नहेरेको र युग युगको लागि दुरगामी नीतिमा काम गरिरहेको बताए । बजेट कार्यान्वयन हुन थालेपछि निजी क्षेत्र अत्यन्तै उत्साहित भएर अघि बढ्ने विश्वास पनि उनले व्यक्त गरे ।












