नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपाललाई आरोग्य, स्वास्थ्य तथा चिकित्सा पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यसहित नेपाल सरकारले आगामी १० वर्षलाई ‘आरोग्य दशक’ का रूपमा मनाउने निर्णयको स्वागत गरेका छन् ।
काठमाडौंमा आयोजित आयुष अन्तर्राष्ट्रिय कन्क्लेभ २०२६ लाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै अध्यक्ष अग्रवालले हिमाल जडीबुटी, योग, ध्यान तथा परम्परागत उपचार पद्धतिजस्ता नेपालको विशिष्ट सम्पदाले स्वास्थ्य तथा आरोग्य पर्यटनका क्षेत्रमा अपार सम्भावना बोकेको बताए ।
उनले नेपाल चेम्बर अफ कमर्सले आरोग्य दशकको अभियानलाई पूर्ण समर्थन गर्ने उल्लेख गर्दै यस पहलले स्वास्थ्य क्षेत्रमा लगानी, नवप्रवर्तन, अनुसन्धान तथा अन्तर्राष्ट्रिय सहकार्यलाई प्रवद्र्धन गर्ने विश्वास व्यक्त गरे ।
सन् १९५१ मा नेपालको निजी क्षेत्रको पहिलो छाता संगठनका रूपमा स्थापना भएको नेपाल चेम्बर अफ कमर्सले व्यापार, उद्योग, पर्यटन तथा आर्थिक कूटनीतिको क्षेत्रमा सात दशकभन्दा बढी समयदेखि पु¥याउँदै आएको योगदानको पनि उनले चर्चा गरे ।
अध्यक्ष अग्रवालले विश्व स्वास्थ्य प्रणाली उपचारमुखी अवधारणाबाट स्वास्थ्य प्रवद्र्धन, रोगको रोकथाम, जीवनशैली व्यवस्थापन तथा समग्र कल्याणतर्फ उन्मुख हुँदै गएको बताए । कोभिड–१९ महामारीले स्वास्थ्य प्रणालीको सुदृढता, मानसिक स्वास्थ्य, स्वस्थ जीवनशैली तथा समुदायस्तरीय तयारीको महत्वलाई उजागर गरेको उनको भनाइ थियो ।
उनले परम्परागत चिकित्सा प्रणाली र आधुनिक विज्ञानबीचको सहकार्य नै भविष्यको स्वास्थ्य सेवाको आधार बन्ने उल्लेख गर्दै कृत्रिम बौद्धिकता (एआई), डिजिटल स्वास्थ्य, टेलिमेडिसिन, जैव प्रविधि तथा डाटा विश्लेषणजस्ता प्रविधिहरूले स्वास्थ्य क्षेत्रमा नवप्रवर्तन र कार्यक्षमताका नयाँ अवसरहरू सिर्जना गरिरहेको बताए ।
अध्यक्ष अग्रवालका अनुसार नेपालले आफ्ना जडीबुटी, प्राकृतिक उपचार पद्धति, योग तथा ध्यानलाई अनुसन्धान र नवप्रवर्तनमार्फत वैज्ञानिक रूपमा विश्व बजारमा प्रवद्र्धन गर्न सके आर्थिक वृद्धि, रोजगारी सिर्जना तथा दिगो विकासमा महत्वपूर्ण योगदान पु¥याउन सक्छ । सम्बोधनका क्रममा उनले नेपाल र भारतबीच रहेको ऐतिहासिक, सांस्कृतिक तथा जनस्तरको सम्बन्धको चर्चा गर्दै स्वास्थ्य तथा आरोग्य क्षेत्रमा सहकार्यले दुई देशबीचको सम्बन्धलाई अझ सुदृढ बनाउन सक्ने बताए। उनले संयुक्त अनुसन्धान, शैक्षिक आदान–प्रदान, औषधि उद्योग, जडीबुटीजन्य उत्पादन तथा स्वास्थ्य पर्यटनका क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्ने आवश्यकता औंल्याए ।
सरकार, निजी क्षेत्र, शैक्षिक संस्था, स्वास्थ्यकर्मी, अनुसन्धानकर्ता तथा विकास साझेदारहरूबीचको सहकार्यबाट मात्र समावेशी, नवप्रवर्तनशील र दिगो स्वास्थ्य प्रणाली निर्माण गर्न सकिनेमा उनले जोड दिए ।
अध्यक्ष अग्रवालले नेपाल–भारतबीच स्वास्थ्य, आरोग्य, अनुसन्धान, औषधि उद्योग तथा पर्यटनका क्षेत्रमा सहकार्यको महत्वसमेत प्रकाश पारे। उनले आयुष कन्क्लेभ २०२६ ले नयाँ साझेदारी विकास गर्न, द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन तथा मानव कल्याण र दिगो विकासमा योगदान पु¥याउने विश्वास व्यक्त गरे ।
नेपाल चेम्बर अफ कमर्सको सहकार्यमा यस कन्क्लेभको चौथो संस्करण जुन १४ मा काठमाडौंमा आयोजना भएको छ । यस कन्क्लेभको मुख्य उद्देश्य आयुष प्रणालीलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्नुका साथै चिकित्सकहरूलाई भविष्य उन्मुख प्रविधिसँग परिचित गराउनु रहेको छ । यस कार्यक्रममा नेपाल भारत बाङ्गगलादेश, युएईका आयुर्वेद विशेषज्ञ, चिकित्सक, अन्वेषक र प्राविधिकसहित २०० भन्दा बढी प्रतिनिधिहरूको सहभागिता रहेको छ । यसअघि भारतको आग्रा, गोवा र जयपुरमा सफलतापूर्वक सम्पन्न भइसकेको आयुस कन्क्लेभ नेपालमा पहिलो पटक आयोजना भएको हो । कार्यक्रममा नेपाल स्थित भारतीय दूतावासका उच्च अधिकारी लगायतको उपस्थिती रहेको थियो ।












