नेपालमा BMW गाडीहरूको आधिकारिक आयातकर्ता तथा वितरक लक्ष्मी प्रिमियम मोटर्स प्रा. लि.ले सरकारले लागू गरेको नयाँ विद्युतीय सवारी (EV) कर नीतिपछि BMW का विद्युतीय गाडीहरूको मूल्य संशोधन गरेको छ ।
यसअन्तर्गत BMW iX1 eDrive20 को मूल्य १ करोड ९९ लाख ९६ हजारबाट बढेर ३ करोड २९ लाख ९६ हजार पुगेको छ। अर्थात् यस मोडलको मूल्यमा १ करोड ३० लाख मूल्य वृद्धि भएको छ ।
सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत EV मा लाग्ने करको व्यवस्था परिवर्तन गरेपछि BMW का विद्युतीय गाडीहरूको मूल्य बढेको हो । नयाँ व्यवस्थाअनुसार अब EV मा लाग्ने कर मोटरको क्षमता भन्दा पनि गाडीको आयात मूल्यका आधारमा निर्धारण गरिनेछ । यसले विशेषगरी उच्च मूल्यका विद्युतीय गाडीहरूमा बढी प्रभाव परेको छ ।
BMW iX1 मात्र नभई BMW का अन्य विद्युतीय मोडेलहरूको मूल्यमा पनि वृद्धि भएको लक्ष्मी प्रिमियम मोटर्सले जनाएको छ । नयाँ कर संरचनाका कारण विभिन्न मोडेलमा फरक–फरक दरले मूल्य समायोजन गरिएको छ ।
अटोमोबाइल क्षेत्रका जानकारहरूका अनुसार नयाँ नीति लागू भएपछि प्रिमियम तथा लक्जरी EV ब्रान्डहरू सबैभन्दा बढी प्रभावित भएका छन् । यसले नेपालमा विद्युतीय सवारीसाधनको मूल्य संरचनामा ठूलो परिवर्तन ल्याएको छ ।
मूल्य वृद्धि भएपनि BMW का विद्युतीय गाडीहरूले अत्याधुनिक प्रविधि, उच्च सुरक्षा, उत्कृष्ट आरामदायी अनुभव तथा शून्य उत्सर्जनयुक्त ड्राइभिङ अनुभव प्रदान गरिरहने कम्पनीको भनाइ छ । लक्ष्मी प्रिमियम मोटर्सले नेपाली ग्राहकहरूलाई BMW का नवीनतम विद्युतीय सवारीसाधन उपलब्ध गराउने प्रतिबद्धता पनि दोहोर्याएको छ ।












