सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले व्यवसायी दीपक भट्टको अग्रसरतामा खुलेका ८ वटा बीमा कम्पनीमा संस्थापाक शेयर हाल्नेहरुसँग प्रिमियम रकमको विवरण माग गरेको छ । विभागले आज सूचना प्रकाशन गर्दै अनुसन्धानका क्रममा अध्ययन प्रयोजनका लागि संस्थापक शेयरधनीसँग प्रिमियम रकमको विवरण माग गरेको हो ।
विभागले नेपाल माइक्रो इन्सुरेन्स कम्पनी लि., गार्डियन माइक्रो लाइफ इन्सुरेन्स, क्रेष्ट माइक्रो लाइफ इन्सुरेन्स, लिवर्टि माइक्रो लाइफ इन्सुरेन्स, प्रोटेक्टिभ इन्सुरेन्स कम्पनी, स्टार माइक्रो इन्सुरेन्स कम्पनी, ट्रस्ट माइक्रो इन्सुरेन्स कम्पनी र हिमालयन रिइन्सुरेन्सका संस्थापक शेयरधनीसँग प्रिमियम रकमको विवरण मागेको हो।
ति कम्पनीहरुमा संस्थापक शेयर खरिद गर्ने संस्थापक शेयरधनीहरुसँग कम्पनीमा भुक्तानी गरेको बाहेक अतिरिक्त शुल्क (प्रिमियम) वापत हालिदिएको रकमको विवरण माग गरिएको हो। विभागले प्रिमियम वापतको रकम कुन व्यक्ति वा संस्थाहरुको बैक खातामा बुझाईएको हो, कति रकम हो, कुन बैंक तथा वित्तीय संस्थाको खातामा हो, भन्ने विवरण फरक नपर्ने गरी विभागको कार्यालयमा बुझाउन आग्रह गरेको हो ।
विभागले यी विवरण १५ दिन भित्र बुझाउन आग्रह गरेको हो ।













