एपोलो हाइड्रोपावर लिमिटेडले आम सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक हिमालयन क्यापिटलले आज वैशाख ११ गते शुक्रबार बिहान ९ बजे शेयर बाँडफाँड गरेको हो।
कम्पनीले चैत्र २६ गतेदेखि वैशाख २ गतेसम्म सर्वसाधारणलाई ७ लाख ८० हजार २ सय कित्ता शेयर निष्काशन गरेको थियो। क्यापिटलका अनुसार यस निष्काशनमा २७ लाख ७१ हजार १८ जनाको आवेदन परेको थियो। जस मध्ये २७ लाख २७ हजार १ सय १७ जनाको आवेदन मात्र योग्य भएको छ।
माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको छ। जसमा ७८ हजार २० जनाले मात्र १० कित्ताको दरले शेयर पाएका छन् । बाँकी आवेदक भने हात खाली भएका छन् ।
नेपाल धितोपत्र बोर्डले माघ २० गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको थियो। कम्पनीले ओखलढुंगा र सोलुखुम्बुको सिमानामा पर्ने बुकु खोलामा ६ मेगावाट क्षमताको बुकु खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ। कम्पनीको अध्यक्ष आङ तेन्जी शेर्पा हुन् भने अन्य संचालकमा डिल्ली बहादुर गुरुङ, रेनुका गुरुङ, धन बहादुर बस्नेत, राजेन्द्र गुरुङ, रोजेन कुमार श्रेष्ठ र स्वतन्त्र संचालकमा विष्णु प्रसाद अधिकारी रहेका छन्।













