२०६४ साल बैशाख ७ गते २० औं वाणिज्य बैंकको रुपमा स्थापना भएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड आज २०८३ बैशाख ७ गते १९ वर्ष पूरा गरि २० बर्षमा प्रवेश गरेको छ । बैंकले आज बार्षिकोत्सव मनाएको हो।
१९ वर्षको अवधि पार गरिसक्दा बैंकले २० लाख ११ हजार ग्राहकलाई वित्तीय सेवा प्रदान गर्न सफल भएको जनाएको छ। सातवटै प्रदेशमा अवस्थित आफ्नै भवनमा प्रदेश कार्यालय संचालनका साथै २०० वटा शाखाहरु मार्फत चालु आर्थिक बर्षको तेस्रो त्रैमास सम्ममा बैंकले कूल निक्षेप करिव रु २ खर्व १६ अर्व संकलन गरी कर्जा तर्फ रु १ खर्व ७७ अर्व परिचालन गरेको छ ।
बैंकले १९औं बार्षिकोत्सवको अवसरमा आज बैशाख ७ गते बिहानै सातवटै प्रदेशमा करिव ९४६ कर्मचारीहरुको सहभागितामा प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ । जसबाट जनमानसमा वित्तीय ज्ञानको समेत अभिमुखिकरण हुने अपेक्षा लिएको बैंकले जनाएको छ ।
साथै संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बैंकले नेपाल रेडक्रस सोसाईटीसंगको सहकार्यमा सातवटै प्रदेशका कूल २० शाखाहरुबाट ५५० जना रक्तदाताको सहभागीतामा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
बैंकले ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६९ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ४२ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।













