नेपाल बीमा प्राधिकरणले हिमालयन रिइन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सहित ५ जना उच्च व्यवस्थापकलाई स्पष्टीकरण सोधेको छ । प्राधिकरणले बुधबार स्पष्टीकरण सोधेको हो।
प्राधिकरणले प्रमुख कार्यकारी अधिकृत उपासना पौडेल, नायव प्रमुख कार्यकारी अधिकृत मुकेश कुमार कपुर, र कार्यकारी निर्देशकहरु मनिष कुमार, शिशिर गैरे, र सन्तोष केसीलाई स्पष्टीकरण सोधेको हो। ७ दिनको म्याद राखेर किन निलम्बन नगर्ने भन्दै स्पष्टीकरण सोधिएको हो। स्पष्टीकरणको जवाफ आएपछि जवाफ चित्त बुझ्दो नभए प्राधिकरणले उनीहरुलाई निलम्बन गर्न सक्ने छ।
सम्पत्ति शुद्दीकरण अनुसन्धान विभागले अहिले हिमालयन रिइन्स्योरेन्सका प्रमोटर रहेका दीपक भट्ट, सुलभ अग्रवाल, शाहील अग्रवाल लगायतमाथि अनुसन्धान गरिरहेको छ । विभागको प्रारम्भिक अनुसन्धानले भट्टले ३ अर्ब ८१ करोड अनिमिताता गरेको देखिएको छ । विभागका अनुसार भट्टले दोस्रो बजारबाट नेपाल रिइन्स्योरेन्स कम्पनी लगायतका विभिन्न कम्पनीहरुको शेयर खरिद गर्न हिमालयन रिइन्स्योरेन्सको २ अर्ब ७३ करोड ३३ लाख रुपैयाँ, यसकै सहायक कम्पनी हिमालयन सेक्युरिटिज बैंकरको २२ करोड १९ लाख रुपैयाँ, एचएलआई लार्ज क्याप फण्डको २५ करोड १४ लाख र नेपाल माइक्रो इन्सुरेन्स कम्पनीको १६ करोड १७ लाख रकम दुरुपयोग गरेको देखिएको छ ।
रकम दुरुपयोगको विषयमा प्राधिकरणले स्पष्टीकरण सोधेको हो ।












