एसवाई प्यानल नेपाल लिमिटेडले चितवनमा अत्याधुनिक युपिभिसीप्रोफाइल उत्पादन उद्योग सञ्चालनमा ल्याउनको लागी कारखाना निर्माणको कार्य सुरु भएको छ । दक्षिण कोरियाको अग्रणी निर्माण सामग्री उत्पादक कम्पनी एसवाई कम्पनी लिमिटेडको सहायक कम्पनी एसवाई प्यानल नेपालले आईपीओ निष्कासन गरिसकेपछिको संकलित रकम पुनः लगानी गर्दे उद्योग खोल्न लागेको हो ।
यस परियोजनामार्फत कम्पनीले नेपाली बजारमा उच्चस्तरीय निर्माण सामग्री उपलब्ध गराउने मात्र नभई स्वदेशमै उत्पादन वृद्धि गरी औद्योगिक विकासमा समेत महत्वपूर्ण योगदान पु¥याउने लक्ष्य लिएको छ । यस उद्योगले नेपाली उपभोक्तालाई अन्तर्राष्ट्रिय स्तरको गुणस्तरमा आधारित निर्माण सामग्री सहज रूपमा उपलब्ध गराउने कम्पनीका कार्यकारी प्रमुख Hong Sungbu को भनाइ छ ।
उनले भने “हामी नेपाली आवासीय निर्माण क्षेत्रमा नयाँलगानी गर्न प्रतिबद्ध छौं । हाम्रो उद्देश्य केवल उत्पादन मात्र होइन, नेपाली जनताको दैनिक जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउने हो।”
उनका अनुसार आवासीय निर्माणमा नवीन दृष्टिकोण युपिभिसी प्रोफाइल उत्पादनमार्फत नेपालमा दीर्घकालीन रूपमा समाधान आवश्यक रहेको तापक्रम नियन्त्रण , ध्वनि नियन्त्रण तथा टिकाउपन सम्बन्धी चुनौतीहरूलाई सम्बोधन गरिने छ । यसले घरहरूको टिकाउ क्षमता वृद्धि गर्नुका साथै सुरक्षित, आरामदायी र वातावरणमैत्री आवास निर्माणमा योगदान पु¥याउने अपेक्षा गरिएको उनको भनाई छ।
कम्पनीका अनुसार अत्याधुनिक प्रविधि प्रयोग गरी अन्तर्राष्ट्रिय मापदण्डअनुसार उत्पादन गर्ने, र नेपाली उपभोक्तालाई उच्च गुणस्तरको सामग्री सुलभ मूल्यमा उपलब्ध गराइनेछ । यस परियोजनाले स्थानीय स्तरमा रोजगारी सिर्जना, सीप विकास तथा औद्योगिक वृद्धि मार्फत आर्थिक सुदृढीकरणमा योगदान पु¥याउने विश्वास कम्पनीले व्यक्त गरेको छ । साथै, नेपाली जनताको दैनिक जीवनलाई सहज, सुरक्षित र आधुनिक बनाउने दीर्घकालीन दृष्टिकोण अघि सारेको कम्पनीले जनाएको छ।
व्यवसाय विस्तार र सेवा नवप्रवर्तन एसवाई प्यानल नेपालले आफ्नो व्यापारिक दायरा विस्तार गर्दै निर्माण सामग्रीसँगै उपभोक्ताको दैनिक जीवनसँग प्रत्यक्ष सम्बन्धित अन्य क्षेत्रमा पनि सक्रियता बढाएको छ ।
यस अन्तर्गत, SY Cosmetics मार्फत सौन्दर्य तथा Skin Care Products बजारमा उपलब्ध गराउँदै आएको छ भने SY Bazzar अनलाइन प्लेटफर्ममार्फत ई–कमर्स सेवा सहज रुपमा सञ्चालन भइरहेको छ । यी पहलहरूले कम्पनीलाई केवल निर्माण सामग्रीमा सीमित नराखी ‘दैनिक जीवन उन्मुख बहुआयामिक ब्रान्ड’ को रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको कम्पनीले जनाएको छ।












