अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको शान्ति वार्ता असफल भएपछि हर्मुज जलडमरु (Strait of Hormuz) मा पूर्ण नाकाबन्दी लगाउने घोषणा गरेका छन्। अमेरिकी सेन्ट्रल कमान्ड (CENTCOM) ले आज सोमबार बिहान १० बजे पूर्वी अमेरिकी समय (EDT) देखि नाकाबन्दी लागू हुने जनाएको छ। नेपाली समयअनुसार यो आज साँझ ७:४५ बजे देखि सुरु हुनेछ।
सो समयपछि अमेरिकी नौसेना (US Navy) ले हर्मुज जलडमरु हुँदै इरानी बन्दरगाहहरू (जस्तै: बन्दर अब्बास आदि) मा जाने वा त्यहाँबाट आउने सबै जहाजहरूलाई रोक्नेछ। ट्रम्पले सामाजिक संजाल ट्रुथमा विश्वकै उत्कृष्ट रहेको अमेरिकी नौसेनाले हर्मुजमा प्रवेश गर्ने वा छोड्ने जहाजलाई रोक्ने बताएका छन्।
अमेरिकी सेन्ट्रल कमान्डले साउदी अरेबिया, युएई जस्ता खाडीका आफ्ना मित्र राष्ट्रका बन्दरगाहमा जाने जहाजहरूलाई अनुमति दिइने जनाएको छ। केवल इरानी बन्दरगाहसँग सम्बन्धित जहाजहरूलाई मात्र लक्षित गरि नाकाबन्दी हुने बताएको छ। यस क्रममा अमेरिकी नौसेनाले जहाजहरूलाई रोकी जाँच गर्ने, इरानलाई पैसा तिरेको भए रोक्ने र समुद्रबाट माइन हटाउने कार्य पनि गर्ने बताएको छ। जहाज रोक्न खोज्दा प्रतिरोध भएमा अमेरिकी नौसेनाले बल प्रयोग गर्न सक्ने, गोलीबारी, जहाज कब्जा वा डुबाउनेसम्मको कारबाही हुन सक्ने बताईएको छ।
यो नाकाबन्दी इरानी बन्दरगाहमा मात्र सीमित हुने छ। विश्वव्यापी तेल आपूर्तिमा खाडीका अन्य देशहरू प्रभावित हुने छैनन्। तर, इरानको तेल निर्यात पूर्ण रूपमा बन्द हुन सक्ने देखिन्छ।
इरानले भने नाकाबन्दी लागू गर्न कुनै पनि युद्धपोत आएमा यो युद्धविरामको उल्लङ्घन हो र बलियो प्रतिकार गरिने बताएको छ। मिसाइल र ड्रोन हमला हुन सक्ने, थप माइन राख्ने, अमेरिकी जहाजमाथि प्रत्यक्ष आक्रमण हुन सक्ने, प्रोक्सी समूह (हुती, हिजबुल्लाह आदि) मार्फत हमला हुन सक्ने सम्भावना देखिएको छ ।
विश्लेषकहरूका अनुसार यो नाकाबन्दीले विश्व तेल मूल्य आकाशिने छ र युद्ध थप तीव्र हुन सक्छ। यो “पहिलो चरण” मात्र भएको भन्दै केही पूर्व CENTCOM अधिकारीले थप कदम (जस्तै : इरानी पूर्वाधारमा हमला) आउन सक्ने बताएका छन्।
इरानले कुनै प्रतिक्रिया दिएमा पूर्ण युद्धको जोखिम बढ्नेछ। अहिले विश्वका नेताहरूले कूटनीतिक प्रयास तीव्र पारेका छन् र स्थिति अत्यन्त तनावपूर्ण छ।













