अमेरिका र इरानबीच पाकिस्तानको राजधानी इस्लामावादमा शनिबारदेखि सुरु भएको उच्चस्तरीय शान्ति वार्ता २१ घण्टा लामो म्याराथन छलफलपछि कुनै सम्झौताबिना समाप्त भएको छ। यो दुई देशबीच ५० वर्षपछि भएको पहिलो प्रत्यक्ष उच्चस्तरीय भेटवार्ता थियो, जसमा मध्यपूर्व युद्ध अन्त्य गर्ने प्रयास गरिएको थियो।
वार्ता असफल भएसंगै उपराष्ट्रपति जेडी भान्स, विशेष दूत स्टिभ विटकफ र जारेड कुशनर सम्मिलित अमेरिकी प्रतिनिधिमण्डल अमेरिका फर्किएको छ । त्यस्तै संसद् अध्यक्ष मोहम्मद बागेर घालिबाफ र विदेशमन्त्री अब्बास अराघची सम्मिलित इरानी प्रतिनिधिमण्डल पनि वार्ता सकिएलगत्तै इरान फर्किएको छ।
दुवै देशले राखेका प्रस्तावहरु एक अर्काले नमानेपछि वार्ता बिना निष्कर्ष टुंगिएको हो । इरानले आणविक हतियार विकास नगर्ने र त्यसका लागि आवश्यक उपकरण/इन्चमेन्ट (उच्च संवर्धित युरेनियम) नराख्ने दीर्घकालीन प्रतिबद्धता अमेरिकाले खोजेको थियो। त्यस्तै स्ट्रेट अफ होर्मुज तत्काल सबै व्यापारी जहाजका लागि खुला गर्नु पर्ने अमेरिकाको शर्त थियो ।
इरानले इजरायलको लेबनानविरुद्ध आक्रमण रोक्ने सहित सबै क्षेत्रीय मोर्चामा पूर्ण युद्धविराम हुनु पर्ने शर्त राखेको थियो।
सुरक्षा आश्वासन हुनु पर्ने, प्रतिबन्ध हटाउने र विदेशमा फ्रिज गरिएका सम्पत्ति (६ अर्बदेखि २७ अर्ब डलरसम्म) फिर्ता पाउनु पर्ने इरानको अर्को माग थियो। स्ट्रेट अफ होर्मुजमा जहाजबाट शुल्क लिने अधिकार कायम राख्ने तथा युद्धबाट भएको क्षतिको क्षतिपूर्ति पाउनु पर्ने इरानको माग थियो। आणविक कार्यक्रममा पूर्ण समर्पण नगर्ने, तर आणविक हतियार नबनाउने पूर्वघोषित नीति कायम राख्ने इरानको अडान थियो।
अमेरिकी उपराष्ट्रपति जेडी भान्सले वार्तापछि पत्रकार सम्मेलनमा भने, “हामीले इरानीहरूलाई हाम्रा सर्तहरू स्वीकार गर्न तयार पार्न सकेनौं। यो हाम्रो अन्तिम र उत्कृष्ट प्रस्ताव हो।” उनले इरानको आणविक क्षमता रोक्ने कुरालाई अमेरिकाको ‘मुख्य लक्ष्य’ बताए। इरानको विदेश मन्त्रालयले भने वार्तालाई ‘गहन’ भनेको छ र अमेरिकालाई ‘अत्यधिक माग र अवैध अनुरोध’ नगर्न आग्रह गरेको छ।
अब के हुन्छ?
वार्ता असफल भए पनि कूटनीति जारी रहने दुवै पक्षले बताएका छन्। पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री इशाक दारले दुवै देशलाई युद्धविराम कायम राख्न र ‘सकारात्मक भावनाका साथ’ थप छलफल गर्न आग्रह गरेका छन्। इरानी विदेश मन्त्रालयका प्रवक्ताले ‘कूटनीति कहिल्यै समाप्त हुँदैन’ भन्दै पाकिस्तान र छिमेकी देशसँग परामर्श जारी राख्ने बताएका छन्।
अहिलेसम्म अर्को वार्ताको मिति घोषणा भएको छैन। स्रोतका अनुसार अब अनलाइन छलफल हुन सक्ने सम्भावना छ। पाकिस्तानले वार्ता प्रक्रिया जीवित राख्ने भूमिका खेलिरहने बताएको छ।
अहिले पनि युद्दविरामको अवस्था छ तर इजरायलले लेबनानमा आक्रमण जारी राखेकोले युद्दविरामको अवस्था कमजोर छ ।
यो वार्ता असफलताले मध्यपूर्वमा तेल आपूर्ति, क्षेत्रीय स्थिरता र विश्वव्यापी ऊर्जा बजारलाई प्रभावित पार्न सक्ने आँकलन गरिएको छ।












