बंगलादेशले रुसी कच्चा तेल भारतमा प्रशोधन गर्ने योजना अघि बढाएको छ। यसले बंगलादेशलाई सस्तो र स्थिर इन्धन आपूर्ति सुनिश्चित गर्ने लक्ष्य राखेको छ।
पश्चिम एशिया द्वन्द्वका कारण इन्धन आपूर्तिमा देखिएको संकट समाधान गर्न बंगलादेशले यो कदम चाल्न लागेको हो । प्रारम्भिक योजना अनुसार बंगलादेशले कच्चा तेल आयात, भारतमा प्रशोधन र तयार इन्धन ढुवानीको सबै खर्च आफैं बेहोर्ने छ। आवश्यक उपकरण नभएकोले बंगलादेश आफैले रुसी तेल प्रशोधन गर्न सक्दैन, त्यो प्रविधि र क्षमता भारतसँग छ।
प्रस्तावित व्यवस्थाअनुसार बंगलादेशले रुसबाट कच्चा तेल खरिद गर्नेछ र भारतले त्यसलाई आयात गरी आफ्ना आधुनिक प्रशोधनगृहमा प्रशोधन गरेर पेट्रोल, डिजेल, जेट फ्युल जस्ता तयार इन्धन बंगलादेशलाई निर्यात गर्नेछ। यो सरकार-सरकार (जीटूजी) सम्झौताअन्तर्गत हुनेछ। बंगलादेशको ऊर्जा तथा खनिज स्रोत विभागले बुधबार (अप्रिल ९) मन्त्रीलाई प्रस्ताव पेश गर्दै विदेश मन्त्रालयमार्फत भारतसँग कूटनीतिक छलफल गर्न अनुमति मागेको छ।
यस योजना अनुसार बंगलादेशले रुसी कच्चा तेल किन्ने छ र खर्च बेहोर्ने छ। भारतले (बंगलादेशको तर्फबाट) कच्चा तेल आयात गर्ने, प्रशोधन गर्ने र तयार उत्पादन बंगलादेशलाई फिर्ता पठाउने छ। बंगलादेशले सबै शुल्क र ढुवानी खर्च पनि तिर्ने छ। यसले बंगलादेशलाई घरेलु प्रशोधनको झन्झट र लागत बचाउँछ।
य्य्दापी यो अझै प्रारम्भिक चरणमा छ। प्रस्ताव स्वीकृत भएपछि मात्र कूटनीतिक वार्ता र जीटूजी सम्झौता हुनेछ। कुनै ठोस मिति घोषणा भएको छैन, तर इन्धन संकट तत्कालीन भएकोले छिट्टै (केही हप्तादेखि महिनाभित्र) सम्झौता हुन सक्ने सम्भावना छ।
बंगलादेशले अहिले पनि भारतको नुमालीगढ रिफाइनरीबाट पाइपलाइनमार्फत डिजेल आयात गरिरहेको छ।












