डिजेल, पेट्रोल (इन्धन)को आपुर्तिमा दबाब परेको भन्दै सरकारले हप्तामा दुइ दिन बिदा दिन थालेको छ । सरकारी अधिकारीहरूको इन्धन सुविधा कटौती गरेको सरकारले ऊर्जा बचतका लागि भन्दै साप्ताहिक बिदा पनि दुइ दिन (शनिबार र आइतबार) बनाएको हो ।
आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिका भट्टले एक भिडियो सन्देश जारी गर्दै इन्धनको बचतमा केन्द्रित हुन अनुरोध गरेका छन् । अत्यावश्यक बाहेकको इन्धनको प्रयोग घटाउन अपिल गर्दै उनले एक दिनमा एक लिटर इन्धन (डिजेल र पेट्रोल) मात्रै बचत हुँदा पनि दैनिक २६ करोड रुपैयाँ बचत हुने हिसाब नै देखाएका छन् । तर, मुलुकको अर्थतन्त्रको संरचनालाई हेर्दा भने यो निर्णयले आर्थिक गतिशीलतामा प्रभाव पार्न सक्ने जोखिम विज्ञहरुले औल्याएका छन् ।
राजस्व संकलनमा गिरावट आउने जोखिम
अर्थ मन्त्रालयका अधिकारीहरुका अनुसार हप्तामा दुइ दिन बिदा हुनासाथ पहिलो प्रभाव नै राजस्व संकलनमा पर्नेछ । शनिबार मात्रै बिदा हुँदा हप्तामा ६ दिन राजस्व संकलन हुने गरेकोमा अब आइतबार पनि बिदा भएपछि हप्तामा ५ दिन मात्रै राजस्व संकलन (भन्सार विन्दुबाट) हुनेछ ।
अर्थ मन्त्रालयका अधिकारीहरुका अनुसार औसतमा दैनिक करिब २.५ देखि २.७ अर्ब रुपैयाँसम्म राजस्व संकलन हुँदै आएको छ । अब हप्तामा दुई दिन बिदा हुने भएकाले आयात, निर्यातबापतको राजस्व संकलन घट्ने देखिएको छ ।
सँगसँगै, सेवा क्षेत्रको कारोबार समेत घट्ने भएकाले राजस्व संकलनमै गिरावट आउने जोखिम पनि उत्तिकै रहेको यस क्षेत्रका जानकारहरु बताउँछन् । भन्सार महशुल, मूल्य अभिवृद्धि कर र आयकर जस्ता राज्यका आम्दानीका मुख्य स्रोतमै गिरावट आउन सक्ने विज्ञहरुले औल्याएका छन् ।
ज्यालादारी मजदूरलाई असर
हप्तामा दुइ दिन दिइँदा ज्यालादारीमा काम गर्ने मजदूरहरुको आम्दानीसमेत घट्ने जोखिम छ । खासगरी, खुद्रा ब्यापार, यातायात र सफाई कर्मचारीहरुको आम्दानी घट्न सक्ने जानकारहरु बताउँछन् ।
बिदाका दिन सवारी साधन कम चल्छन् । त्यस आधारमा गाडी नचलेको दिनको भत्ता यातायात मजदूरले पाउँदैनन् । यसैगरी, काठमाडौँसहित ठूला शहरहरुमा काम गरेको दिनको आधारमा ज्याला भूक्तानी गर्ने गरी सफाई कर्मचारी राख्ने अभ्यास बढ्दो छ । अब दुइ दिन बिदा हुनासाथ त्यस्ता कर्मचारीहरुको आम्दानी घट्ने अर्थशास्त्रीहरु बताउँछन् ।
‘दैनिक ज्यालादारीमा काम गर्ने श्रमिकहरुका लागि दुइ दिनको बिदा भनेको दुइ दिनको आम्दानी गुम्नु हो’ एक जना अर्थशास्त्रीले भने, ‘कतिपयले युरोपतिर दुइ दिन बिदा छ, विकसित देशमा दुइ दिन बिदा छ भनेर बोलेको पनि सुनिन्छ । तर, ति देशको प्रतिव्यक्ति आय (ज्याला र तलब) हेर्नुपर्छ । हाम्रोमा खासगरी शारिरीक श्रम गर्ने (बलको काम गर्ने) मजदूरहरुको ज्याला उसैपनि कम छ ।’
यसैबीच, दुइ दिनको बिदाले आम्दानीमा संकुचन ल्याउँदा उपभोक्ता माग घटाउने र उद्योगको उत्पादनमा समेत गिरावट ल्याउने सम्भावना रहने ति अर्थशास्त्रीको भनाइ छ ।
बैंकको लगानी चक्रमै असर पर्ने आशंका
दुइ दिने साप्ताहिक बिदाले बैंक तथा वित्तीय संस्थाहरूको कर्जा स्वीकृति, ऋण अशुली, र लगानीको चक्रमै असर पार्न सक्ने जोखिम पनि औल्याइएको छ । दैनिक अर्बौ रुपैयाँ कर्जा प्रवाह र कारोबार हुने क्षेत्रमा दुइ दिने बिदाले ढिलासुस्ती हुने र नगद प्रवाहमा असर गर्न सक्ने विज्ञहरुको चिन्ता छ ।
‘अब अहिले उद्योगमा कर्जा लगानीको माग कम रहेपनि आयातको एलसी त दैनिक खोल्नुपर्ने हुन्छ, अब दुइ दिन बिदा भएसँगै आयात–निर्यातसँग जोडिने एलसी खोल्ने प्रक्रिया ढिलो हुँदा व्यापार चक्रमा दबाब सिर्जना हुन सक्छ’ एक जना व्यवसायीले भने ।
उत्पादन घट्दा लागत बढ्ने चिन्ता
नेपालमा उद्योगहरु अहिले क्षमताको आधामा मात्रै चलिरहेका छन् । उत्पादन लागत महँगो, बजारमा उपभोक्ता मागमा आएको संकुचन जस्ता कारणले अहिले उद्योगहरु आफ्नो क्षमता अनुसारको उत्पादन गरिरहेका छैनन् । विगतमा निर्माण सामग्री उद्योगमा मात्रै यो समस्या रहेकोमा अहिले खाद्यान्न जस्तो दैनिक उपभोग्य वस्तु उत्पादन गर्ने उद्योगहरु पनि पूर्ण क्षमतामा चल्न पाएका छैनन् । दाल, चामल र खाने तेल जस्ता भान्छामा नियमित आवश्यक पर्ने वस्तुहरुको समेत उत्पादन घटाउनु परिरहेको उद्योगीहरु नै बताउँछन् ।
यस्तो अवस्थामा उत्पादनमूलक र सेवा क्षेत्रमा काम गर्ने कामदारहरुका लागि काम गर्ने दिन घट्नु भनेको उत्पादन अझै घट्नु हो । काम गर्ने दिन र उत्पादन घटेपनि स्थायी खर्च (उद्योगको भाडा, दैनिक ज्यालादारी बाहेकका कर्मचारीको तलब, ऋणको साँवा र ब्याज अर्थात् किस्ता) भने यथावत नै रहन्छ । जसका कारण उत्पादन लागत बढ्ने र यसको प्रभाव अन्ततः उपभोक्तामा मूल्यवृद्धिका रूपमा देखिन सक्ने जोखिम रहेको अर्थशास्त्रीहरुको भनाइ छ ।
अनौपचारिक अर्थतन्त्र मौलाउने खतरा
नेपालको ठूलो हिस्सा अनौपचारिक अर्थतन्त्रले ओगटेको छ । विभिन्न समयमा विभिन्न निकायहरुले गरेका अध्ययन अनुसार अहिलेको जीडीपीको तुलनामा यसको झण्डै ४० प्रतिशत अर्थतन्त्र अनौपचारिक छ ।
अब दुइ दिने बिदाले औपचारिक क्षेत्र बन्द हुँदा अनौपचारिक कारोबार बढ्न सक्छ । यसले बजारमा असुन्तलन ल्याउन सक्ने, कर तथा राजस्व संकलनमा गिरावट आउन सक्ने र अनौपचारिक च्यानलमार्फत आयात बढ्न सक्ने जस्ता जोखिमहरु बढाउने अर्थतन्त्रका जानकारहरु बताउँछन् । यसो भएमा अनौपचारिक अर्थतन्त्रको आकार बढ्दै जाने चिन्ता पनि अधिकारीहरुले व्यक्त गरेका छन् ।
पर्यटनमा आशा, तर व्यवहारिक चुनौती
यसैबीच, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले हप्तामा दुइ दिन बिदा हुँदा आन्तरिक पर्यटनमा वृद्धि हुने अपेक्षा गरेका छन् । लगातार दुइ बिदा पाएपछि मानिसहरू घुम्न निस्कने भएकाले होटल तथा रेस्टुरेन्ट थप चलायमान हुने उनको अपेक्षा छ । साथै, शहर बजार नजिकैका आन्तरिक पर्यटकीय गन्तव्यहरु थप गुल्जार बन्ने उनको आशा छ ।
तर, इन्धन अभाव र आर्थिक अनिश्चितताका कारण मानिसहरूले खर्च घटाउने भएकाले पर्यटनमा अपेक्षित उछाल आउने सम्भावना पनि कमजोर छ।
साथै, समस्याको अल्पकालीन समाधानका रूपमा ल्याइने यस्ता नीतिहरूले लगानीकर्ताको व्यवसायिक योजना प्रभावित हुने र यसले दीर्घकालीन आर्थिक क्षति गर्न सक्ने प्रश्न अहिले उठ्न थालेको छ ।












