इरानले स्ट्रेट अफ हर्मुजमा तेल ट्याङ्कर तथा जहाजहरूको आवतजावत फेरि रोकेको छ। इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) निकट सेमिअफिसियल समाचार एजेन्सी फार्सले जनाएअनुसार, यो कदम इजरायलले युद्धविराम सम्झौता उल्लङ्घन गर्दै लेबनानमा भारी बमबारी जारी राखेकाले चालिएको हो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग दुई साताको युद्धविरामको घोषणा गरेका थिए। उक्त सम्झौताअनुसार इरानले हर्मुज जलडमरु खुला गर्ने र जहाजहरूलाई सुरक्षित आवतजावत दिने सहमति गरेको थियो। तर इजरायलले लेबनानमा हिजबुल्लाहविरुद्ध ‘सबैभन्दा ठूलो’ आक्रमण गरेको भन्दै इरानले सम्झौता भङ्ग भएको आरोप लगाएको छ।
इरानले इजरायललाई दोषी ठहर गरेको छ। फार्स एजेन्सीले भनेको छ, “इजरायली आक्रमणका कारण हर्मुजमा ट्याङ्करहरूको आवतजावत रोक्का गरिएको छ।” इजरायली सेनाले भने लेबनानमा भएको बमबारीलाई ‘हिजबुल्लाहविरुद्ध निरन्तर अभियान’ भनेको छ र यो युद्धविराम सम्झौताभन्दा बाहिर रहेको दाबी गरेको छ।
युद्दविराम घोषणा भए पनि आक्रमण अझै चलिरहेको छ। इजरायलले बेरुतलगायत लेबनानका विभिन्न स्थानमा भारी बमबारी गरेको छ। सयौँ घाइते र मृत्युको खबर आएको छ। इजरायलको भनाइअनुसार यो आक्रमण हिजबुल्लाहलाई कमजोर पार्नका लागि हो र अमेरिका-इरान युद्धविरामले लेबनानलाई समेट्दैन।
इरानको विदेश मन्त्रालय र फार्स एजेन्सीले स्पष्ट रूपमा भनेका छन् : “इजरायलले युद्धविराम उल्लङ्घन गरेसम्म हर्मुज खुला हुँदैन।” इरानी अधिकारीहरूले यदि इजरायली आक्रमण रोकिएन भने दुई साताको युद्धविराम सम्झौताबाट बाहिरिने चेतावनी समेत दिएका छन्। इरानले लेबनानमा भएको बमबारीलाई “प्रादेशिक युद्धविरामको प्रत्यक्ष उल्लङ्घन” मानेको छ।
इरानले अहिलेसम्म प्रत्यक्ष सैन्य जवाफ दिने घोषणा गरेको छैन, तर उच्चस्तरीय स्रोतहरूका अनुसार यदि लेबनानमा बमबारी जारी रह्यो भने इरानले “सबै विकल्प” खुला राखेको छ। हर्मुज रोक्नु नै इरानको पहिलो कदम हो, जसले विश्वव्यापी तेल आपूर्तिमा ठूलो असर पारिरहेको छ। इरानी सांसदहरूले “अर्को आक्रमण भएमा इरानले चुप लागेर बस्ने छैन” भन्ने अभिव्यक्ति दिएका छन्।
विश्लेषकहरूका अनुसार यो घटनाक्रमले मध्यपूर्वमा नयाँ तनाव निम्त्याउन सक्छ। विश्व बजारमा तेलको मूल्य फेरि बढ्ने सम्भावना छ भने हर्मुजमा अड्किएका सयौँ जहाजहरूको अवस्था अनिश्चित बनेको छ।












