गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि आज बिहीबार प्रतिनिधिसभाको पहिलो बैठक बस्दै छ। बैठक दिउँसो २ बजे निर्माणाधीन संसद भवनको बहुउदेश्य कक्षमा हुने छ ।
संसदको जेष्ठ सदस्य अर्जुन नरसिंह केसीको अध्यक्षतामा पहिलो बैठक बस्ने छ। सभामुखको निर्वाचन नहुँदासम्म उनले नै बैठक चलाउने छन् । सभामुखको लागि चैत्र २२ गते चुनाव हुदै छ।
आज बैठकमा अधिवेशन प्रारम्भको अवसरमा दलीय आधारमा सांसदहरुले आ-आफ्नो मन्तव्य राख्ने छन्। जस अनुसार संसदको सबैभन्दा ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट सभापति रवि लामिछानेले सम्बोधन गर्ने छन् । दोस्रो ठूलो दल नेपाली कांग्रेसको तर्फबाट भीष्मराज आङ्देम्बेले सम्बोधन गर्ने छन् । कांग्रेसले अहिलेसम्म संसदीय दलको नेता चयन गरेको छैन ।
एमालेबाट संसदीय दलका नेता रामबहादुर थापा बादलले सम्बोधन गर्ने छन् भने नेकपाको तर्फबाट वर्षमान पुनले सम्बोधन गर्ने भएका छन् । श्रम संस्कृति पार्टीको तर्फबाट अध्यक्ष हर्कराज राई र राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट ज्ञानेन्द्र शाहीले सम्बोधन गर्ने छन् । स्वतन्त्र सांसद रहेका महाविर पुनले पनि सम्बोधन गर्न पाउने छन् ।
आजको बैठकको लागि ८ वटा कार्यसूची तयार गरिएका छन् । जसमा राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने, र राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्री पदमा नियुक्ति तथा मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रहरूको बेहोरा पढेर सुनाउने रहेको छ।
त्यस्तै प्रतिनिधि सभा नियमावली, २०७९ बमोजिम कामकारवाही गर्ने प्रस्ताव पेस र स्वीकृत सभामुखले नेपालको संविधानको धारा १०४ बमोजिम प्रतिनिधि सभाबाट सभाले आफ्नो नियमावली नबनाएसम्मको लागि प्रतिनिधि सभा नियमावली, २०७९ बमोजिम कामकारवाही गर्ने प्रस्ताव स्वीकृतिका लागि प्रस्तुत गर्ने र सभामुखको अनुपस्थितमा बैठकको अध्यक्षता गर्न सदस्यहरूको मनोनयन गर्ने कार्यसूची छ।
त्यस्तै अधिवेशन प्रारम्भको अवसरमा दलीय आधारमा सांसदहरुले आ-आफ्नो मन्तव्य राख्ने छन्। त्यस्तै पहिलो बैठकले नै
प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ७ बमोजिम प्रतिनिधि सभाको सभामुख पदको निर्वाचनको लागि दिन तोक्ने छ।
पहिलो बैठकमा गृहमन्त्री सुधन गुरुङले “मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश, २०८२”, “प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२”, र “नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश, २०८२” पेश गर्ने छन् ।
संविधान सभाका सदस्य एवं पूर्व सदस्यहरु ऋषिकेश गौतम, मोहम्मद आफताव आलम, आमोदप्रसाद उपाध्याय, होमनाथ दाहाल र संविधान सभा तथा राष्ट्रिय सभाका सदस्य बलदेव बोहराकोको शोक प्रस्तावहरु प्रस्तुत गरेपछि पहिलो बैठक सकिनेछ।













