नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा एसोसियट तर्फको उपाध्यक्षका उम्मेदवार प्रबलजंग पाण्डेले आधिकारिक रुपमा आफ्नो समूहको उम्मेदवारी घोषणा गरेका छन्। भावी अध्यक्ष अन्जन श्रेष्ठ समेतको समर्थन पाएका पाण्डेको समूहले आज औपचारिक रुपमा उम्मेदवारी घोषणा गरेको हो।
पाण्डेको समूहमा सदस्यको उम्मेदवारहरुमा अभिज्ञा मल्ल, अम्बिका प्रसाद पौडेल, बाबुकाजी कार्की, हेमन्त गोल्छा, इश्वर जिसी, जुना माथेमा, कृष्ण लाल महर्जन, निकोलस पाण्डे, प्रियराज रेग्मी, राजेश कुमार अग्रवाल, ऋषि अग्रवाल, आरएस भण्डारी, शक्ति कुमार बेगानी, सुशील थापा, सुयेश प्याकुरेल, र उज्वल श्रेष्ठ रहेका छन् । पाण्डेले एसोसियटतर्फ काबिल र ऊर्जाशील व्यवसायीहरुको टिम तयार पारेको उल्लेख गरेका छन् ।
एसोसियट उपाध्यक्षमा पाण्डेसँग ज्योत्सना श्रेष्ठको प्रतिस्पर्धा हुनेछ।
को हुन् पाण्डे ?
३ कार्यकाल महासंघको केन्द्रीय कार्यकारिणी समिति सदस्य भइसकेका प्रबलजंग पाण्डे लोमस ग्रुपका सञ्चालक हुन् । औषधी, सिमेन्ट, बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीमा उनी लगानीकर्ताका रुपमा आवद्ध छन् । उनी अहिले सिटिजन्स बैंकको अध्यक्ष छन् ।
पाण्डे महासंघका पूर्व अध्यक्ष प्रदीपजंगका छोरा हुन् । करिब १ दशकदेखि महासंघको आन्तरिक समिकरणमा सक्रिय रहेका उनी काबिल र व्यवस्थापकीय जिम्मेवारी कुशलतापूर्वक पूरा गर्ने व्यक्तित्वका रुपमा चिनिन्छन् ।
औद्योगिक र व्यवसायिक क्षेत्रको वृहत्तर उन्नयन र ति क्षेत्रले भोगिरहेका समस्याहरु समाधानमा सरकारलाई ‘स्ट्रङ लबिङ’ गर्नका लागि आफूले एसोसियट उपाध्यक्षमा उम्मेदवारी दिएको पाण्डेले बताएका छन् । उनले अब नेपालमा ‘दोस्रो चरणको आर्थिक सुधार’ आवश्यक रहेको भन्दै यस विषय नीति निर्माताहरुलाई बुझाउन आवश्यक रहेको बताएका छन् ।












