सहरी विकासमन्त्री प्रा.डा. कुमार इङ्नामले कर्मचारीसँग बिदाई भेटघाट गरेका छन् । नयाँ सरकार गठन नहुँदै मन्त्रालयबाट बिदा हुँदै उनले बिहीबार मन्त्रालय भित्रका कर्मचारी र मन्त्रालय मातहतका विभागका प्रमुखहरुमाझ छलफल गरे ।
तर, विगतमा मन्त्रीहरुको बिदाई छलफल एवम् कार्यक्रमभन्दा मन्त्री इङ्नामको बिदाई कार्यक्रम भने फरक रह्यो । उनले आफूलाई इतिहासकै असफल, नालायक र पङ्गु मन्त्रीको उपमा दिए । ‘मैले केही काम गर्न सकिनँ । मलाई त कालोमोसो दलेर निकाले भइहाल्थ्यो’ उनले भने, ‘तीन वर्षअघि नै बजेट गएको आफैँले पढेको विद्यालयको बजेटसमेत निकासा गराउन नसक्ने म कति नालायक मन्त्री रहेछु भन्ने हिनताबोध भइरहेको छ ।’
उनले आफूले संसद भवनको काम चाँडो सक्नका लागि पटक पटक अनुगमन गरेर निर्देशन दिँदा समेत काम नभएको र विभागको महानिर्देशक नै सरुवा गर्न खोज्दा सचिवले नै सहयोग नगरेको बताए । ‘संसद भवनको काम किन समयमा सकिँदैन ? किन समय थपेको थप्यै गरिन्छ ? कर्मचारीहरू किन अटेरी गर्छन् ?’ उनले प्रश्न गर्दै थपे, ‘मैले काम नगर्ने डीजीलाई सरुवा गर्न खोज्दा सचिवज्यूले मान्नुभएन । केही दिनपछि मन्त्रीले ३ करोड घुस लिएर महानिर्देशक सरुवा गर्न लाग्यो भनेर हल्ला फिँजाइयो ।’
उनले आफूले चाहेर पनि कुनै काम नगर्न नसकेको स्वीकार गर्दै असहयोग गर्ने कर्मचारीलाई ‘अब भोज खानुस्’ भन्नसमेत भ्याए । ‘मैले हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस् ।’












