अर्थमन्त्री रामेश्वरप्रसाद खनालले उपलब्ध तरलतालाई उत्पादनशील क्षेत्रमा परिचालन गरी राष्ट्रिय पुँजी निर्माणमा केन्द्रित हुनुपर्ने बताएका छन् । नागरिक लगानी कोषको ३६औँ वार्षिकोत्सव कार्यक्रममा अर्थमन्त्री खनालले हाल बैंकिङ प्रणालीमा ब्याजदर घटेको र तरलता पर्याप्त रहेको अवस्थामा त्यसलाई उत्पादनमुखी क्षेत्रमा लगानी गर्नुपर्ने आवश्यकता औँल्याए ।
उनले ठूला पूर्वाधार तथा दीर्घकालीन लगानी आवश्यक पर्ने आयोजना अघि बढाउनुपर्ने बताउँदै बूढीगण्डकी जलविद्युत् आयोजनाजस्ता परियोजनामा सार्वजनिक–निजी साझेदारी (पिपिपी) मोडलमार्फत लगानी बढाउन सकिने गरी प्रक्रिया अगाडि बढाइएको जानकारी दिए । निष्क्रिय पुँजीलाई उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्नेमा उनले जोड दिए ।
अर्थमन्त्री खनालले मध्यपूर्व क्षेत्रमा देखिएको द्वन्द्वले नेपालको आपूर्ति शृङ्खलामा असर पर्न सक्ने र मूल्यवृद्धि जस्ता समस्या आउन सक्ने भन्दै त्यसलाई समाधान गर्न आगामी दिनमा विशेष ध्यान दिनुपर्ने धारणा रराखे ।
उनले वैकल्पिक वित्त परिचालनसम्बन्धी कानुन शीघ्र निर्माण गर्नुपर्ने आवश्यकता औँल्याउँदै विभिन्न अवकाश कोषमा लागिरहेको करको विषयमा पुनर्विचार गरिनुपर्ने बताए । समान प्रकृतिको आम्दानी तथा सामाजिक सुरक्षासम्बन्धी रकममा न्यून कर लगाउनुपर्नेमा अर्थमन्त्री खनालले जोड दिए । सरकारी स्वामित्वका धेरै संस्थाहरू समस्याग्रस्त हुने गरेको उल्लेख गर्दै नागरिक लगानी कोषले व्यवसायिक सफलता हासिल गर्न सफल भएको उनले बताए । नेपाल वायुसेवा निगममा कोषबाट प्रवाहित कर्जाको असुलीका विषयमा पनि सरकारको नीतिगत जमानीको आधारमा उपयुक्त विकल्प खोज्नुपर्ने उनको भनाइ छ ।
कोषले लगानी गर्दा जोखिम व्यवस्थापनमा सचेत हुनुपर्ने उल्लेख गर्दै विभिन्न अवकाश कोषको सम्पत्ति–दायित्व व्यवस्थापनका लागि दीर्घकालीन ऋणपत्र जारी गर्न आवश्यक रहेको उनले बताए।












