सरकारले साउदी र युएईसहित ७ देशको लागि श्रम स्वीकृति र पुन: श्रम स्वीकृति प्रदान गर्ने कार्य फेरि सुचारु गर्ने निर्णय गरेको छ । श्रम मन्त्रालयले आज चैत्र ३ गते श्रम स्वीकृति खुलाउने निर्णय गरेको हो ।
मन्त्रालयले गत फागुन १७ गतेको निर्णयानुसार मध्यपूर्वका (पश्चिम एसिया) देशहरुमा विकसित विषम परिस्थितिको कारण त्यहाँ कार्यरत नेपाली श्रमिक एवँ रोजगारीका लागि त्यस क्षेत्रमा जान चाहने श्रमिकहरुको सुरक्षा संवेदनशीलताका कारण साउदी अरेविया, UAE, कतार, कुवेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेवनान, टर्कि र इजरायल सहित मध्यपूर्वका देशहरुको लागि व्यक्तिगत र संस्थागत श्रम स्वीकृति स्थगन गरेको थियो।
सो सम्बन्धमा सम्बन्धित देशका गैरआवासीय नेपाली संघ, दूतावासहरु लगायत श्रम स्वीकृति समाप्त भएर पुन: नवीकरण गर्न नपाएका श्रमिकहरुले समेत पुनः श्रम स्वीकृति प्रदान गर्ने विषयमा विभिन्न माध्यमबाट पुनः श्रम स्वीकृति खुलाई पाउनका लागि माग गरेकोमा, परराष्ट्र मन्त्रालयको च.नं. CAWAA / MAA / ७५६५, मिति २०८२/१२/०३ गतेको सिफारिस र वैदेशिक रोजगार विभागबाट समेत लेखी आएको आधारमा श्रम स्वीकृति खुला गर्ने निर्णय भएको हो ।
अब स्थगन भएका मुलुकहरुमध्येमा इरान, इजरायल, बहराइन, कुवेत, इराक र लेबनान बाहेकका अन्य मुलुकहरु (साउदी अरेविया, UAE, कतार, ओमान, यमन, जोर्डन, टर्कि) मा कार्यरत नेपाली श्रमिकहरुलाई र विदामा नेपाल आई पुन: उल्लेखित देशहरुमा रोजगारीका लागि फिर्ता हुन चाहने नेपाली श्रमिकलाई पुनः श्रम स्वीकृति प्रदान गर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ ।












