सरकारले ‘पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने सम्बन्धि आदेश’ राजपत्रमा प्रकाशित गरेको छ । पेट्रोलमा कति प्रतिशत इथानोल मिश्रण गर्ने, कहाँबाट खरिद गर्ने, मूल्य कसरी निर्धारण गर्ने, मापदण्ड कसरी निर्धारण गर्ने विषयहरु उक्त आदेशमा उल्लेख गरिएको छ ।
विभिन्न ७ थरीका कच्चा पदार्थहरु इथानोल उत्पादनमा प्रयोग हुनेछन् । चिनी उद्योगबाट प्राप्त हुने मोलासिस (खुँदो), नेपियर घाँस, खेर जाने कृषि तथा वनजन्य जैविक पदार्थ (बायोमास), पराल, मकैको ढोड, गहुँको छवाली, खाद्यान्नको लागि प्रयोग गर्न नमिल्ने अन्न, सिमल तरुल र कुहाउनका लागि चाहिने मर्चा (यिस्ट)लाई इथानोल उत्पादनमा प्रयोग हुने कच्चा पदार्थका रुपमा लिइएको छ । तर, खाद्यान्नलाई प्रयोग गर्न नहुने स्पष्ट व्यवस्था सूचनामा उल्लेख छ । साथै, उत्पादकले नेपाल आयल निगमलाई मात्रै इथानोल बिक्री गर्नुपर्नेछ ।
अहिले राजपत्रमा प्रकाशित भएको सूचना अनुसार प्रतिलिटर पेट्रोलमा १० प्रतिशतसम्म इथानोल मिश्रण गर्न पाइनेछ । तर, यसका लागि सुरुमा इथानोलको मापदण्ड बन्नुपर्नेछ । मापदण्ड बनाउने जिम्मेवारी गुणस्तर तथा नौपतौल विभागलाई दिइएको छ । यसअनुसार विभागले मापदण्ड (नेपाल गुणस्तर अर्थात् एनएस चिन्ह) नबनाएसम्म पेट्रोलमा इथानोल मिश्रण हुने छैन ।
यसैगरी, आदेशमा मूल्य निर्धारणको प्रक्रिया पनि खुलाइएको छ । यसका लागि उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयको आपूर्ति तर्फको सचिवको संयोजकत्वमा एउटा समिति रहनेछ । उक्त समितिमा अर्थ र कृषि मन्त्रालयका सहसचिव, एक जना विज्ञ रहने छन् भने आयल निगमका कार्यकारी निर्देशकलाई उक्त समितिको सदस्य सचिवको जिम्मेवारी तोकिएको छ ।
आर्थिक वर्ष सुरु हुनु अगावै मूल्य निर्धारण गरिसक्नु पर्नेछ । प्रत्येक वर्षको साउन १ गतेबाट नयाँ मूल्य लागू हुनेछ । यदि त्यसरी मूल्य निर्धारण नभएमा अघिल्लो वर्षकै मूल्य लागू हुनेछ ।
यस्तै, उद्योगसँग इथानोल खरिद गर्नुभन्दा पहिले निगमको सञ्चालक समितिले स्वीकृति दिएको हुनुपर्नेछ । निगमले आफ्नो सञ्चालक समितिबाट स्वीकृति पाएपछि मात्रै उद्योगहरुसँग इथानोल खरिद गर्न सक्नेछ ।
यसैगरी, उद्योगहरुले ढुवानी भाडा लिने गरी निगमको सम्बन्धित डिपोसम्म आफैँले इथानोल ढुवानी गर्न सक्नेछन् । निगम आफैँले ढुवानीकर्ता नियुक्त गरेर इथानोल ढुवानी गर्न चाहेमा ढुवानी भाडा निगम स्वयंले ब्यहोर्नुपर्नेछ ।












