राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को एकल बहुमतको सरकार बन्ने भएपछि पर्यटन क्षेत्र उत्साहित भएको छ । रास्वपाले आफ्नो चुनावी बाचापत्रमा पर्यटन विकासका लागि उल्लेख्य विषयहरु समावेश गरेको हुनाले अब आफ्नै नेतृत्वको एक सरकारले ति विषयहरु कार्यान्वयन गर्नेमा पर्यटन व्यवसायीहरु आशावादी देखिएका छन् ।
‘टुरिजम मास्टर प्लान’ बनाउन सुझाव
होटल संघ नेपाल (हान)का अध्यक्ष विनायक शाहले आजको दिनमा नेपालका होटलहरु वार्षि ४० लाख पर्यटकलाई सेवा दिन सक्षम रहेपनि १२ लाख हाराहारी मात्रै पर्यटक आइरहेको बताउँछन् । उनका अनुसार स्वदेशी र अन्तर्राष्ट्रिय चेन होटलहरुको आगमनले नेपाली होटल उद्योग विश्वस्तरीय आतिथ्यता प्रदान गर्न सक्षम छ ।
तर, क्षमता अनुसारको पर्यटक आगमन नहुँदा र पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन हुन नसक्दा होटल उद्योग निराश भइरहेको उनको भनाइ छ । ‘रास्वपाले पर्यटकको आगमन बढाउनका लागि पूर्वाधार विकास, पोखरा र भैरहवा विमानस्थलको पूर्ण क्षमतामा सञ्चालन जस्ता विषयहरु आफ्नो वाचापत्रमा समावेश गरेको छ’ अध्यक्ष शाह भन्छन्, ‘यसबाट रास्वपाले पर्यटन उद्योगलाई प्राथमिकतामा राखेको छ भन्ने देखिन्छ । पर्यटन क्षेत्रको समग्र विकासका लागि नयाँ बन्ने सरकारले टुरिजम मास्टर प्लान नै बनाउनुपर्छ ।’
‘टाइम फ्रेम’ नै बनाएर टुरिजम मास्टर प्लान तयार गरिएमा एयरलाइन्स कम्पनीहरु, होटल, ट्राभल कम्पनी सबैले ‘बोल्ने कुरा एउटै हुने’ र त्यस अनुसार नतिजा पनि निस्कने अध्यक्ष शाहको विश्वास छ । ‘अहिले एयरलाइन्स, होटल, ट्राभल कम्पनीहरु जस्ता सबै स्टेकहोल्डरहरुले आ–आफ्नो काम त गरिरहेका छन्, तर मास्टर प्लान भयो भने सबैको घोषित जिम्मेवारी हुन्छ, त्यस अनुसार काम गर्दा नतिजा पनि देखिन्छ’ उनी भन्छन्, ‘अब संसदमा नयाँ र युवाहरुको प्रतिनिधित्व बढेको छ । उहाँहरु जुझारु हुनुहुन्छ । उहाँहरुको जुझारुपनले आर्थिक समृद्धिको मुख्य पिल्लरका रुपमा रहेको पर्यटन क्षेत्रमा पक्कै पनि सकारात्मक योगदान पुग्नेछ ।’
उनले निजामती कर्मचारी र राजनीतिक नेतृत्वबीच धार मिल्नुपर्ने आवश्यकता पनि औल्याएका छन् । विगतमा राजनीतिक नेतृत्वले अघि बढाएका कतिपय कामहरु कर्मचारी प्रशासनको ढिलासुस्तीका कारण रोकिएको स्मरण गर्दै पर्यटन ऐन २०३५ को अबिलम्ब संशोधन हुनुपर्ने पनि उनको भनाइ छ । ‘राष्ट्रिय सभाबाट त भर्खरै यो अघि पनि बढेको छ, अब हामी चाहन्छौँ राजनीतिक नेतृत्व र निजामतीको धार मिलोस् र थालनी भएका कामहरु चाँडो अघि बढुन्’ उनले भने ।
नेपाललाई सस्तो गन्तव्य बनाउने नीतिगत प्रावधानहरु लागू हुने अपेक्षा
नेपाल उद्योग वाणिज्य महासंघको पर्यटन समिति सभापति देशबन्धु बस्नेतले नयाँ बन्ने सरकारबाट पर्यटन क्षेत्रले निकै अपेक्षा गरेको बताएका छन् । उनले रास्वपाले आफ्नो घोषणा पत्रमा पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेको हुनाले अब बन्ने सरकारबाट पर्यटन उद्योग निकै आशावादी रहेको बताएका हुन् ।
उनले ऊर्जावान युवाहरु देशको संसदमा पुगेको र अब मन्त्रीसमेत युवाहरु नै बन्ने भएकाले उनीहरुको ऊर्जाबाट पर्यटनसहित सिङ्गो निजी क्षेत्रले सुधार र सहकार्यको अपेक्षा गरेको बताएका छन् । नयाँ सरकारले ‘डेस्टिनेशन’ अनुसार कर छुटका प्रावधानहरु लागू गर्ने, विदेशी चेन होटलहरुले लैजान पाउने रोयल्टीमा सहजीकरण गर्ने र पर्यटन पूर्वाधारको विकासमा योगदान गर्ने उनको विश्वास छ ।
‘नयाँ नयाँ ठाउँलाई पर्यटकीय हब र पूर्वाधार सम्पन्न बनाउन केही समयका लागि त्यस्ता ठाउँमा लगानी गर्न लगानीकर्तालाई कर छुट जस्ता विषयहरुमार्फत प्रोत्साहन गर्नुपर्छ’ बस्नेतले भने, ‘नयाँ सरकारमा ऊर्जा र क्षमताले भरिपूर्ण युवा व्यक्तिहरु पुग्दै हुनुहुन्छ । उहाँहरुबाट पक्कै पनि यी विषयहरु सकारात्मक रुपमा सम्बोधन हुनेमा हामी आशावादी छौँ ।’
उनले पर्यटकीय गन्तव्यहरुको विकास गर्न पर्यटन क्षेत्रमा लगानीका लागि एकल अंकको ब्याजदर, एयरलाइन्सको टिकटमा लगाइएको भ्याट सम्बन्धि प्रावधानमा पुनरावलोकन र होटललाई उद्योगको मान्यता र कार्यान्वयन जस्ता विषयहरु पनि नयाँ सरकारबाट सम्बोधन हुने अपेक्षा गरिएको बताएका छन् । ‘सस्तो गन्तव्य भएमा पर्यटकहरु बढ्छन्, अहिले विभिन्न कारणले नेपाल क्रमशः महँगो गन्तव्य बनिरहेको छ’ बस्नेत भन्छन्, ‘नेपाललाई सस्तो र स्तरीय पर्यटकीय गन्तव्य बनाउनुपर्छ । नयाँ सरकारलाई आवश्यक सल्लाह र सकारात्मक सुझाव दिँदै सहकार्य गर्न हामी आतुर छौँ ।’
उनले भावी प्रधानमन्त्री बालेन्द्र शाहले जनकपूरमा पुगेर जनकपूरलाई ‘वेडिङ डेस्टिनेशन’का रुपमा विकास गर्ने कुरा उल्लेख गरेको स्मरण गर्दै यो निकै सकारात्मक रहेको र आफूहरुले धेरै पहिलादेखि उठाउँदै आएको विषय भएको पनि बताएका छन् ।
उत्साह छ, काम देख्न पाइयोस्ः निराजन थापा (अध्यक्ष, होटल सब्रिना)
होटल व्यवसायी निराजन थापाले पनि स्थिर सरकार र युवा प्रधानमन्त्री आउने कुराले उत्साह प्रदान गरेको बताउँछन् । पढेलेखेका, देश दुनियाँ बुझेका र ऊर्जा तथा भिजन भएका युवाहरुले नेतृत्व लिने कुरा अत्यन्त सकारात्मक रहेको उनको भनाइ छ ।
उनले होटललाई उद्योगका मान्यता प्रदान गर्नुपर्ने, एयरलाइन्सहरुको क्षमता विकास गर्नुपर्ने, पोखर र भैरहवा विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्नुपर्ने आवश्यकता औल्याएका छन् । ‘डोमेस्टिक फ्लाइटमा पनि विदेशी र नेपालीलाई फरक फरक रेट छ, यसमा पनि एकरुपता हुँदा धेरै राम्रो हुन्छ’ थापा भन्छन्, ‘होटलहरुमा पनि अस्वस्थ प्रतिस्पर्धा हुनुभन्दा एउटा स्ट्याण्डर्ड कायम हुनुपर्छ । नयाँ सरकारले यी देख्दा सामान्य लाग्ने तर, सुधार हुँदा धेरै राम्रो सन्देश जाने कामतर्फ ध्यान दिन्छ भन्ने मेरो अपेक्षा छ ।’
उनले काठमाडौँ–तराई मधेश द्रूत मार्ग चाँडो सम्पन्न हुनुपर्ने, स्थलमार्ग हुँदै नेपाल प्रवेश गर्ने पर्यटकहरुका लागि सहजीकरण गरिनुपर्ने, पर्यटकीय गन्तव्यहरुमा आधारभूत आवश्यकताहरु पूरा गर्नुपर्ने जस्ता मसिना कुराहरुमा ध्यान दिन सकिए नेपालको पर्यटन क्षेत्र जुर्मराउने विश्वास व्यक्त गरेका छन् । ‘अब नयाँ सरकार आउँदैछ, रबि लामिछानेहरुले आँट गरेर पार्टी बनाउनुभयो, दुःख गर्नुभयो । अहिले बालेन शाह पनि सँगै हुँदा दुइ तिहाई बहुमत आउने अवस्था देखिएको छ, यो हामी जस्ता काम गरेर खाने र काम गर्नका लागि राम्रो वातावरण चाहिन्छ भन्नेहरुका लागि अत्यन्तै खुशीको कुरा हो’ थापाले भने, ‘बालेन शाह कम बोल्नुहुन्छ, काम गर्ने व्यक्तिका रुपमा चिनिनुहुन्छ । अब प्रधानमन्त्रीका रुपमा पनि उहाँको काम देख्न पाइयोस् ।’
यस्तो छ पर्यटन सम्बन्धि रास्वपाको बाचापत्र
१) नेपाल भित्रिने पर्यटक संख्या र उनीहरूको प्रतिव्यक्ति खर्चलाई पाँच वर्षभित्र दोब्बर पार्दै औसत बसाइ लम्ब्याउन आवश्यक तिहरू कार्यान्वयन गर्नेछौं । ट्रेकिङ्ग केन्द्रित पर्यटनलाई विविधीकरण गर्न प्रकृति, संस्कृति, समुदाय जोड्दै नयाँ ‘इकोसिस्टम’ स्थापनामा ध्यान दिनेछौं । कर्णाली र सुदुरपश्चिमलाई विशेष ध्यान दिई नयाँ पर्यटकीय गन्तव्यहरू स्थापित गर्नेछौं । सडकले विगतका पदमार्ग ध्वस्त पारेका ठाउँमा वैकल्पिक पदमार्ग बनाउन बजेट छुट्याउने छौं ।
२) एकद्वार डिजिटल पर्यटन प्रणालीमार्फत् अध्यागमन, ट्रेकिङ, राष्ट्रिय निकुञ्ज, पर्यटन विभाग, सम्पदास्थलका फरक–फरक अनुमति प्रणाली, टिकट र शुल्कलाई एउटै डिजिटल प्लेटफर्ममा एकीकृत गरी पर्यटकको समय, खर्च र झन्झट घटाउनेछौं । पर्वतीय पर्यटनमा व्यापक सुधार र सुरक्षाको प्रत्याभूति दिनेछौं । हिमाललाई ६,००० मि. देखि ८,००० मि. सम्म तीन श्रेणीमा विभाजित गरी ८,००० मि. माथिको आरोही बन्न तलको अनुभव लिएको हुनपर्नेछ । सहज ड्रोन प्रयोग लगायत आधुनिक प्रविधिबाट सुरक्षा, खोज तथा उद्धार प्रणाली सुदृढ बनाउनेछौं । नेपालको भौगोलिक लाभ उपयोग गर्दै भारत–नेपाल सीमाबाट १.५ घण्टाको दूरीमा रहेका पहाडी क्षेत्रमा ’हिल ’स्टेसन विकास नीति’ कार्यान्वयन गर्नेछौं ।
३) पशुपतिनाथ र लुम्बिनीका अलावा काठमाडौँ उपत्यकाको संस्कृति तथा वास्तुकला, देवघाटदेखि मुक्तिनाथ सम्मको हिन्दु–बौद्ध महिमा र राम–जानकी विवाहको ऐतिहासिक भूमी जनकपुरलाई धार्मिक–सांस्कृतिक पर्यटन केन्द्रका रुपमा प्रवद्र्धन गर्न विशेष पूर्वाधार निर्माण गर्नेछौँ । यी लगायत अन्तर्राष्ट्रिय ब्राण्डिङ नपुगेका सुदूरपश्चिम, कर्णाली, मधेश र कोशीका प्रसिद्ध स्थान र सम्पदाहरुको प्रवद्र्धनमा जोड दिनेछौँ । नेपाल पर्यटन बोर्ड पुर्नगठित हुनेछ, जसले नयाँ र सिर्जनात्मक मार्केटिङ, अनुभव संकलन र प्रशारण, स्थानीय समुदायका आफ्ना पर्यटकीउ उत्पादनहरुलाई ‘कथा’मार्फत बजारीकरण गर्नेछौँ ।
४) नेपाललाई विश्वकै प्रमुख पर्वतारोहण प्रशिक्षण केन्द्रका रूपमा विकास गर्न ‘माउन्टेन स्कुल’ को नीतिगत ढाँचा तयार गरी उच्च हिमाली उद्धार र चिकित्सा सम्बन्धी अन्तर्राष्ट्रिय एकेडेमी सञ्चालन गर्नेछौं ।
५) नेपाल नागरिक उड्डयन प्राधिकरणमा नियामकीय र सेवा प्रवाह गर्ने निकाय अलग बनाउँदै, अन्तर्राष्ट्रिय विज्ञ टोलीमार्फत् ‘हवाई सुरक्षा अडिट’ गराएर नेपाललाई कालोसूचीबाट हटाउन पहल गर्नेछौं ।
कुशासनका कारण खस्केको नेपाल वायुसेवा निगमलाई राजनीतिक भागबन्डा र हस्तक्षेपबाट पूर्ण रूपमा मुक्त गरी यसको सञ्चालन र व्यवस्थापनको जिम्मेवारी खुला प्रतिस्पर्धाबाट छानिएको व्यावसायिक टोलीलाई सुम्पिने, वित्तीय अवस्था सुधार्न सरकारको ५१ प्रतिशत स्वामित्व हुने गरी निजी क्षेत्रको सहभागिता भित्राउने र अन्ततः धितोपत्र बजारमा सुचिकृत गर्ने रणनीति अवलम्बन गर्नेछौं । साथै नेपाल वायुसेवालाई छिटो, पारदर्शी र भ्रष्टाचाररहित प्रक्रियाबाट जहाज लिजमा लिई बजारले धान्नेसम्म उडान सङ्ख्या बढाउन लगाई थप जहाजको खरिद प्रक्रिया अगाडि बढाउनेछौं ।
६) पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलहरुलाई पूर्ण सञ्चालनमा ल्याउन विभिन्न शुल्कमा छुटको व्यवस्थालाई थप प्रभावकारी बनाउन, ति विमानस्थललाई अन्तर्राष्ट्रिय बजारीकरण गर्न, साथै भारतसँग प्रवेश–निगर्मन तथा आइ.एल. एस. सञ्चालनबारे कुटनीतिक पहल गर्नेछौं । त्रिभुवन विमानस्थलको क्षमता बढाउन ९ वर्ष अघि तयार पारिएको नयाँ अन्तर्राष्ट्रिय टर्मिनलको डिजाइनलाई द्रुत गतिमा परिमार्जन गरी निर्माण प्रक्रियालाई अगाडि बढाउनेछौं । नयाँ अन्तर्राष्ट्रिय विमानस्थलको योजनालाई नेपालको दीर्घकालीन बजार विश्वव्यापी उड्डयनमा परिवर्तनशील प्रवृत्तिहरूको विस्तृत अध्ययनका आधारमा निजगढ वा वैकल्पिक स्थानमा निर्माण गर्न, साथै विमानस्थललाई सडक एवं रेलमार्गमार्फत् प्रमुख सहरहरुसँग जोड्न सार्वजनिक र निजी वित्तीय स्रोतको व्यवस्थापन गर्नेछौं ।













