देशभरी पेट्रोलियम पदार्थको खपत बढेको छ । निर्वाचनका कारण देशभरी अन्य समयको तुलनामा अहिले देशैभरी डिजेल र पेट्रोलको माग बढेको छ । दलहरुले निर्वाचन प्रचार–प्रसार सुरु गरेदेखि नै बढ्न थालेको पेट्रोलियम पदार्थको खपत अहिले झन बढेको छ।
पेट्रोलियम व्यवसायी शिवप्रसाद घिमिरेका अनुसार काठमाडौँसहित देशभरी नै पेट्रोलको खपत बढेको छ । ‘मेरो काठमाडौँको एउटा पेट्रोल पम्पले दैनिक ८ हजार लिटरसम्म तेल बिक्री गर्थ्यो, तर हिजो अस्ति त एकै दिन २० हजार लिटरसम्म बिक्री भयो’ उनले भने, ‘इजरायल–इरान द्वन्द्वले अब पेट्रोलियम पदार्थको आपूर्ति प्रभावित हुन्छ र मूल्य बढ्छ भन्ने हिसाबले पनि मान्छेहरुले सोचेका होलान् । तर, त्यस्तो हुँदैन ।’
यता, नेपाल आयल निगमले पनि सामान्य अवस्थाको तुलनामा अहिले पेट्रोल र डिजेलको खपत ३० प्रतिशतले बढेको जनाएको छ । निगमका कार्यकारी निर्देशक डा. चण्डिका प्रसाद भट्टका अनुसार सामान्य अवस्थामा नेपालमा दैनिक २ हजार किलोलिटर पेट्रोल खपत हुन्छ । तर, अहिले दैनिक २७ सय किलोलिटर सम्मको माग रहेको उनको भनाइ छ ।
‘काठमाडौँमा त हिजो र अस्ति (फागुन १८ र १९ गते) सामान्य दिनको भन्दा करिब करिब दोब्बर नै माग रह्यो, समग्र देशभरीको खपतको अवस्था हेर्दा अहिले दैनिक २६ देखि २७ सय किलोलिटर सम्म पेट्रोलको माग रहेको छ’ डा. भट्टले भने ।
त्यसैगरी, अन्य समयमा डिजेलको माग दैनिक ४ हजार किलोलिटरसम्म रहने गरेकोमा अहिले बढेर ५५ सय किलोलिटर पुगेको छ । ‘हामीले समग्रमा २५ देखि ३० प्रतिशतसम्म माग बढ्न सक्छ भनेरै तयारी गरेका थियौँ, अहिले करिब करिब त्यहीँ हाराहारीमा बढेको छ । तर, अभाव छैन, अभाव हुँदैन पनि ।’
‘इजरायल–इरान द्वन्द्वले होइन, चुनावले बढाएको हो खपत’
पेट्रोलियम व्यवसायी शिवप्रसाद घिमिरेका अनुसार इजरायल–इरान द्वन्द्वले नेपालमा तत्कालै इन्धनको अभाव हुने खतरा भने छैन । विगतमा भोग्नु परेको समस्याका कारण अभाव भइहाल्छ कि भनेर मानिसहरु त्रसित भएको देखिएपनि समग्र स्थिति हेर्दा तत्कालै पेट्रोलियम पदार्थको अभाव नहुने उनको भनाइ छ ।
यसैगरी, आयल निगमले पनि अहिले इजरायल–इरान द्वन्द्वलाई हेरेर नभई खपत बढिरहेको नभई निर्वाचनकै कारण इन्धनको माग बढेको जनाएको छ । नेपालले भारतसँग इन्धन किन्ने भएकाले इजरायल–इरान द्वन्द्वका कारण नेपालको इन्धन सप्लाईमा ठूलो असर नगर्ने निगमका कार्यकारी निर्देशक डा. भट्ट बताउँछन् ।
‘भारतले ३ महिनाको माग धान्न पुग्ने स्टक राखेको छ, हामीलाई माग अनुसारको डिजेल पेट्रोल पठाइरहेको पनि छ’ उनले भने, ‘भारतसँग स्टक रहुन्जेल हामीलाई समस्या हुँदैन ।’
उनका अनुसार भारतीय आयल कर्पोरेशनले नेपालमा पेट्रोल र डिजेल सहितको इन्धन अभाव हुन नदिने प्रतिवद्धता नै जनाएको छ । कच्चा तेल खरिद गरिरहेका मुलुकबाट अहिले पनि सहजै आपूर्ति भइरहेको र कथमकदाचित अहिले कच्चा तेल ल्याउने गरिएका देशबाट आपूर्ति प्रभावित भए भेनेजुयलाबाट ल्याएर भएपनि आपूर्ति सहज गराउने गरी भारत तयारी अवस्थामा रहेको डा. भट्टको भनाइ छ ।
अहिले नेपालमा पाइपलाइनमार्फत इन्धन आयात हुने भएकाले यहाँ स्टक भने हुँदैन । आवश्यकता अनुसार भारतबाट माग गर्ने र उताबाट केही घण्टामै डिजेल पेट्रोल नेपाल आइपुग्ने निगमको भनाइ छ । ‘पाइपलाइनबाट आउने भएकाले हामीसँग यति दिनलाई पुग्ने स्टक छ भन्ने चाहिँ हुँदैन, हामीलाई चाहिएको बेला जुनसुकै समयमा पनि माग गर्न सक्छौँ । हामीले माग गरेको केही घण्टामै पेट्रोल डिजेल सजिलै आउँछ’ निगमका कार्यकारी निर्देशक डा. भट्टले भने, ‘हामीले घरमा धाराबाट पानी थापे जस्तो हो ।’













