काठमाडौं–तराई मधेश द्रुत मार्ग (फास्ट ट्र्याक)को काम ४५ प्रतिशत सकिएको छ । यो परियोजना निर्माण गरिरहेको नेपाली सेनाले हालसम्म ४५ प्रतिशत काम सकिएको जानकारी दिएको हो ।
सैनिक प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार यो परियोजना तोकिएको समयसीमा २०८३ चैतमै सम्पन्न गर्ने गरी काम भइरहेको छ । उनका अनुसार ४५.१६ प्रतिशत भौतिक प्रगति भएको आयोजनाको वित्तीय प्रगति भने ४५.३३ प्रतिशत रहेको छ ।
फास्ट ट्रयाकमा कुल १०.९७९ किलोमिटर सुरुङ मार्ग पर्छ । जसमध्ये लेन डाँडाको १.६२६ र धेद्रेको १.६९१ सुरुङको ब्रेक थ्रु भइसकेको छ । महादेवटार सुरुङमार्गको ७० प्रतिशत काम सम्पन्न भएको छ ।
यस आयोजना अन्तर्गत बन्नुपर्ने जम्मा ८९ वटा पुलमध्ये १३ वटा निर्माण सम्पन्न भइसकेका छन् भने बाँकीको ठेक्का लागिसकेको छ ।
निर्माणका क्रममा ५४ हजार रुख कटान गरेर हालसम्म ७ लाख ५० हजार नयाँ बिरुपा रोपिएको र ती मध्ये १ लाख ५१ हजार हुर्काएर सामुदायिक वनलाई हस्तान्तरण गरिएको सेनाले जनाएको छ ।












