सर्वोच्च अदालतले नेपाल वायुसेवा निगमको महाप्रबन्धक छनोट प्रक्रिया रोक्न अन्तरिम आदेश दिएको छ । फागुन २१ मा हुन लागेको प्रतिनिधिसभा निर्वाचनको आचारसंहिता लागू भइसकेको भन्दै दायर भएको रिटमा सर्वोच्चले प्रक्रिया अघि नबढाउन अन्तरिम आदेश दिएको हो ।
सर्वोच्च अदालतमा चीरञ्जीवी उपाध्यायले रिट दायर गरेका थिए । उक्त रिटमा सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश विनोद शर्माको एकल इजलासले नियुक्ति सम्बन्धि प्रक्रिया अघि नबढाउन अन्तरिम आदेश दिएको हो ।
साथै, सर्वोच्चले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई कारण देखाऊ आदेशसमेत जारी गरेको छ ।
यसअघि पर्यटन मन्त्रालयले सचिवको संयोजकत्वमा महाप्रबन्धक छनोट समिति गठन गरेको थियो । समितिले माघ ४ गते १० जनाको नाम ‘सर्टलिस्ट’ गरेको थियो । समितिले बुधबार र बिहीबार सर्ट लिस्टमा परेकाहरुसँग अन्तर्वार्ता तथा प्रस्तुतीकरण समेत लिइसकेको छ ।












