आगन्तुक रिसोर्ट लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आईपीओ निष्काशन गर्नको लागि प्रभु क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको छ ।
सोमबार सम्पन्न यस सम्झौतामा आगन्तुक रिसोर्ट लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत आर्य शम्शेर ज.व.राणा तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध संचालक आशिष गौचनले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार कम्पनीले जारी पुँजीको ३० प्रतिशत शेयर सर्वसाधारणमा निष्कासन गर्नेछ । प्रस्तावित आईपीओ निष्कासन तथा बिक्री प्रक्रियासँग सम्बन्धित सम्पूर्ण कार्य प्रचलित ऐन, नियमावली, निर्देशिका तथा नियामकीय मापदण्डको पालना गर्दै सम्पन्न गरिने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार यो रिसोर्ट मुगल वास्तुकला शैलीमा निर्माण गरिएको छ । रिसोर्टको विभिन्न कोठा तथा निजी बाल्कोनीबाट २२ वटा हिमशृङ्खलाको मनोरम दृश्यावलोकन गर्न सकिने प्रमुख विशेषता रहेको छ । शान्त वातावरण, आकर्षक भौगोलिक अवस्थिति, हिमाली दृश्य तथा कार्यक्रममैत्री पूर्वाधारका कारण रिसोर्ट फुर्सद, पारिवारिक बसाइ, कर्पोरेट कार्यक्रम, सम्मेलन, विवाह तथा अन्य सामाजिक समारोहका लागि उपयुक्त गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ । प्राकृतिक सौन्दर्य र मनोरमलाई आधुनिक आतिथ्य सेवासँग संयोजन गर्दै रिसोर्टले स्वदेशी तथा विदेशी पर्यटकलाई गुणस्तरीय आवास, भोजन तथा मनोरञ्जन सेवा प्रदान गर्दै आएको छ ।
कम्पनीले आगामी दिनमा आफ्नो सेवा तथा पूर्वाधार थप विस्तार गर्दै पाँचतारे स्तरको एकीकृत रिसोर्टका रूपमा स्तरोन्नति गर्ने र पर्यटकलाई लक्षित गरी आतिथ्य सेवाको गुणस्तर अभिवृद्धि गर्ने कम्पनीको दीर्घकालीन योजना अघि सारेको छ । रिसोर्टको यठेष्थ जग्गा रहेको छ । कोटेश्वरदेखि धुलिखेलसम्मको सडकखण्डको सुधार तथा स्तरोन्नति कार्य अन्तिम चरणमा पुगेकाले सामान्य यातायात अवस्थामा काठमाडौंबाट रिसोर्टसम्म करिब ४५ मिनेटमै पुग्न सकिने अवस्था बनेको कम्पनीले जनाएको छ।
प्रस्तावित सार्वजनिक निष्कासनबाट संस्थागत विकास, व्यवसाय विस्तार तथा दीर्घकालीन पूँजी व्यवस्थापनमा थप सहयोग पुग्ने अपेक्षा कम्पनीको छ ।











