नेपालमा अन्तराष्ट्रिय र आन्तरिक गरि कुल ५५ वटा विमानस्थल छन्। ५५ वटा विमानस्थल मध्ये पनि २१ वटा चल्दै चल्दैनन् । चलेका मध्ये पनि कतिपयमा वर्षको १० पटक पनि प्लेन नपुग्ने गरेको नेपाल नागरिक उडड्यन प्राधिकरणको तथ्यांकले देखाएको छ ।
सन् २०२५ को जनवरी देखि नोभेम्बरसम्मको तथ्यांक अनुसार बझांग विमानस्थल र इलाम (सुकिलुम्बा) विमास्थलमा १० पटक पनि जहाज पुगेका छैनन् । बझांग विमानस्थलमा जम्मा ७ पटक जहाज पुगेको छ भने इलाम (सुकिलुम्बा)मा जम्मा ६ पटक जहाज पुगेको छ। तिनै पुगेका जहाज फर्कदा यी विमानस्थलमा क्रमश १४ र १२ पटक उडान भएको छ।
यसरी सय पटक पनि जहाज नपुग्ने १० वटा विमानस्थल रहेका छन् । समीक्षा अवधिमा भोजपुर विमानस्थलमा ८१ पटक, ताप्लेजुङ विमानस्थलमा ९६ पटक, खानीडांडा विमानस्थलमा ३७ पटक, साँफेबगर विमानस्थलमा ४० पटक, रुम्जाटार विमास्थलमा ४२ पटक मात्र जहाज पुगेका छन् । त्यस्तै दाङ विमानस्थलमा ९० पटक, थामखर्क विमानस्थलमा ४३ पटक र गुल्मी रेसुङ्गा विमानस्थलमा २८ पटक जहाज पुगेका छन् ।
झन्डै आधा खर्बको लागतमा बनेको भैरहवा स्थित गौतम बुद्द अन्तराष्ट्रिय विमानस्थलमा पनि जहाजको आगमन निराशाजनक छ। सो विमानस्थलमा जनवरी देखि नोभेम्बरसम्ममा जम्मा ११० पटक मात्र प्लेन पुगेको छ। यस विमानस्थलबाट कार्गो मुभमेन्ट शुन्य छ। नेपालमा रहेका मध्ये कार्गो मुभमेन्ट नहुने गौतम बुद्ध एक मात्र अन्तराष्ट्रिय विमानस्थल रहेको छ।
समीक्षा अवधिमा आन्तरिक तर्फ काठमाडौँ विमानस्थलमा सबैभन्दा धेरै विमानको उडान अवतरण भएको छ । काठमाडौँ विमानस्थलमा आन्तरिक तर्फ ४२ हजर २ सय ६४ प्लेन आएका छन् भने ४२ हजार २ सय ७८ वटा प्लेन उडेका छन् । यस क्रममा काठमाडौँ आन्तरिक विमानस्थलबाट कुल ३७ लाख १८ हजार ८ सय जनाले सेवा लिएका छन् ।
काठमाडौँको अन्तराष्ट्रिय विमानस्थल तर्फ भने १४ हजार १ सय २५ प्लेन आएका छन् भने त्यहाँबाट १४ हजार १ सय २६ जहाज उडेका छन् । यस क्रममा कुल ४० लाख ९८ हजार ५ सय ४९ जनाले सेवा लिएका छन् ।
हाल नेपालमा ३ वटा अन्तराष्ट्रिय र ५२ वटा अन्तरिक गरि कुल ५५ वटा विमानस्थल रहेको छ। ५२ वटा अन्तरिक विमानस्थल मध्ये २ वटा हब विमानस्थल रहेको छ। नेपालमा अन्तराष्ट्रिय विमानस्थलको रुपमा काठमाडौँमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल, भैरहवामा गौतम बुद्द अन्तराष्ट्रिय विमानस्थल र पोखरामा पोखरा अन्तराष्ट्रिय विमानस्थल रहेका छन् । त्यस्तै अन्तरिक तर्फको २ वटा हब विमानस्थलको रुपमा विराटनगर, र नेपालगंज विमानस्थल रहेका छन् । यी बाहेक थप २९ वटा आन्तरिक विमानस्थल संचालनमा छन् ।
संचालनमा रहेका अन्य २९ विमानस्थल
बझाङ, बाजुरा, भरतपुर, भोजपुर, चन्द्रगढी, दाङ, धनगढी, डोल्पा (जुफाल), फाल्गुनन्द सुकिलुम्बा (इलाम), गुल्मी रेसुङ्गा, जनकपुर, जोमसोम, जुम्ला, खानीडाँडा, फाप्लु, पोखरा, राजविराज, रामेछाप, रारा, रुम्जाटार, सल्ले (रुकुम), साँफेबगर, सिमरा, सिमिकोट, सुर्खेत, ताप्लेजुङ, तेन्जिङ हिलारी (लुक्ला), थामखर्क, र तुम्लिङटार ।
संचालनमा नरहेका २१ विमानस्थल
बाग्लुङ, बैतडी, चौरजहारी (रुकुम), दार्चुला, ढोरपाटन, डोटी, पालुङटार (गोरखा), जिरी, कालिकोट, कमल बजार, काँगेलडाँडा, खिजी चन्डेश्वरी, लाङटाङ, लामिडाँडा, महेन्द्रनगर, मनाङ, मसिनेचौर (डोल्पा), मेघौली, रोल्पा, स्याङबोचे, र टिकापुर ।
रातमा चल्ने १० वटामा मात्र
संचालनमा रहेका विमानस्थल मध्ये पनि १० वटामा मात्र रातको समयमा संचालन गर्न सकिने सुविधा छन् । ३ वटा अन्तराष्ट्रिय विमानस्थल, तथा विराटनगर, चन्द्रगढी, धनगढी, जनकपुर, नेपालगंज, सिमरा, र राजविराजमा मात्र रातमा उडान संचालन गर्न सकिने सुविधा छ ।
यी बाहेक भक्तपुरको नलिन्चोकमा हेलिकप्टरहरुको लागि हेलिपोर्ट रहेको छ। त्यस्तै हाल निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माणको प्रक्रियामा रहेको छ अर्घाखाँचीमा आन्तरिक विमानस्थल निर्माण प्रक्रियामा छ ।









