शिवश्री हाइड्रोपावर लिमिटेडले लिलामीमा ल्याएको अवितरित हकप्रद शेयर बाँडफाँड भएको छ। बिक्री प्रबन्धक सिटिजन्स क्यापिटलका अनुसार कम्पनीको मङ्सिर ५ गतेको संचालक समितिले शेयर बाँडफाँड गरेको हो।
क्यापिटलका अनुसार लिलामीको शेयरको कटअफ मूल्य १४० रुपैयाँ कायम भएको छ। १४० रुपैयाँमाथि कबुल गरेर आवेदन दिने सबैले शेयर पाएका छन्। १४० रुपैयाँ मै आवेदन दिनेले भने सापेक्षिक भार अनुसार समानुपातिक रुपमा शेयर पाएका छन् ।
क्यापिटलले लिलामीमा नपरेको शेयरको रकम आज मङ्सिर ९ गतेदेखि फिर्ता गर्ने जनाएको छ। आवेदकले उल्लेख गरेको बैंक खातामा मै आईपीएसबाट रकम फिर्ता गरिने क्यापिटलले जनाएको छ।
शिवश्री हाइड्रोले कार्तिक २० गतेदेखि कार्तिक २७ गतेसम्म हकप्रदमा अवितरित सर्वसाधारण समूहको ८ लाख ६५ हजार ८ सय ४५ कित्ता शेयर लिलाममा ल्याएको थियो। कम्पनीले भदौ ११ गतेदेखि असोज २३ गतेसम्म १:१ को अनुपातमा हाल कायम चुक्ता पुँजीको एक सय प्रतिशतले हुन आउने १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँ बराबरको १ करोड ४७ लाख ६४ हजार कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो। जस मध्ये रितपुर्वक आवेदन दिने शेयरधनीलाई १ करोड ३८ लाख ९८ हजार १ सय ५५ कित्ता शेयर बाँडफाँड गरिएको थियो। बिक्री नभएको शेयर लिलाममा आएको थियो ।
नेपाल धितोपत्र बोर्डले कम्पनीलाई साउन ४ गते हकप्रद निष्काशनको अनुमति दिएको थियो।












