नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले करार र मासिक ज्यालादारीमा कार्यरत कर्मचारी हटाउन थालेको छ । निवर्तमान कार्यकारी अध्यक्ष युवराज अधिकारीले ठूलो संख्यामा करारका कर्मचारी भर्ती गरेर आर्थिक दायित्व थप गरेपछि थला पर्न लागेको नेपाल एयरलाइन्सले करारका कर्मचारी हटाउन थालेको हो ।
निगमका निमित्त महाप्रबन्धक जनकराज कालाखेतीले कर्मचारी कटौती गर्दै लैजाने निगमको नीति अनुरुप अहिले ६ जनाको करार तथा मासिक ज्यालादारी अवधि अन्त्य गरेका हुन् । निगमको आर्थिक दायित्व कम गर्ने उदेश्यसहित सुधारात्मक कदमको थालनी स्वरुप व्यवस्थापनले उक्त निर्णय गरेको निगमका प्रवक्ता अनिल घिमिरेले जानकारी दिएका छन् ।
यसअघि प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायुसेवा निगममा मनलाग्दी र कुनै प्रक्रिया बिना भर्ती गरिएका करारका कर्मचारी तत्काल हटाउन निर्देशन दिएकी थिइन् । निमित्त महाप्रबन्धक कालाखेतीले उक्त निर्देशन पश्चात करारका कर्मचारी हटाउन सुरु गरेका हुन् । यो कदमलाई आम सर्वसाधारणले समेत स्वागत गरेका छन् ।









