नेपाल उद्योग वाणिज्य महासंघको यसपाली चुनावी साधारणसभा हुँदैछ । चैत २८ गते साधारणसभा र चैत २९ गते निर्वाचन हुने नियमित तालिका छ । हाल वरिष्ठ उपाध्यक्ष रहेका अन्जन श्रेष्ठ अध्यक्ष बन्दैछन् । अध्यक्ष बाहेकको पदका आकांक्षीहरु अहिले आन्तरिक छलफलमा छन् ।
अध्यक्ष चन्द्रप्रसाद ढकालले चन्द्रागिरीमा सम्पन्न हालैको केन्द्रीय समितिको बैठकमा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरेर नेतृत्व हस्तान्तरण गर्न चाहेको बताएका थिए । बैठकमा सहभागी एक पदाधिकारीका अनुसार अध्यक्ष ढकालले सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयनका लागि वर्तमान केन्द्रीय समिति एक हुनुपर्ने ‘स्ट्रङ’ भनाइ राखेका थिए ।
‘उहाँ (अध्यक्ष)ले चन्द्रागिरीमा सम्पन्न बैठकमा सर्वसम्मतको कुरा स्ट्रङ रुपमा राख्नुभयो, उहाँले गर्नुभएको आह्वान नै अहिलेको लागि उपर्युक्त विकल्प हो भन्नेमा सबै सहमत पनि हुनुभएको छ’ ति पदाधिकारीले भने, ‘अध्यक्ष ज्यूले अहिले निजी क्षेत्र एक हुनुपर्ने बेला छ, चुनावमा हुने समूहगत प्रतिस्पर्धाले हुनेवाला अध्यक्षलाई काम गर्न असजिलो हुन्छ, हुनेवाला अध्यक्षलाई सफल बनाउन पनि सर्वसम्मत रुपमा नै पदाधिकारी र केन्द्रीय सदस्य चयन गरेर जानुपर्छ भन्नु भएको हो ।’
उपाध्यक्ष ज्योत्सना श्रेष्ठले पनि अहिले चुनावी प्रतिस्पर्धा गरेर जानुभन्दा सकेसम्म सिङ्गो कार्यसमिति नै सर्वसम्मत रुपमा चयन गरेर जाँदा राम्रो सन्देश जाने बताएकी छिन् । यदि सिङ्गो कार्यसमिति सर्वसम्मत गर्न सकिँदैन भने कम्तीमा पदाधिकारी मात्रै भएपनि सर्वसम्मत रुपमा चयन गरेर उदाहरण प्रस्तुत गर्नुपर्ने उनको भनाइ छ ।
‘चुनाव गरेर, चुनाव लडेर मात्रै राम्रो हुन्छ भन्ने होइन, कहिलेकहीँ परिस्थिति अनुसार सर्वसम्मत नेतृत्व चयन गरेर जाँदा पनि त्यसले एउटा इक्जामपल सेट गर्छ समाजमा’ उनले भनिन्, ‘यसपाली प्राइभेट सेक्टरले असुरक्षित महशुस गरिरहेका बेला सर्वसम्मतको आवश्यकता पनि बढेको छ ।’
त्यसो त, कम्तीमा एक कार्यकाल वरिष्ठ उपाध्यक्षदेखि तलका सबै पद सर्वसम्मत रुपमा चयन गर्न विधानलाई पनि देखाइएको छ । कार्यकारी अध्यक्षमा अझै एक कार्यकाल प्रत्यक्ष निर्वाचन नहुने भएकाले ‘टाउको बिनाको समूह’ बनाएर चुनावमा जानु हुँदैन भन्नेमा आफूले पनि सबैलाई सम्झाउँदै आएको उपाध्यक्ष हेमराज ढकाल बताउँछन् ।
‘संशोधित विधान पनि अब लागू हुँदैछ, तर संशोधन भएको विधान अनुसार पनि अबको एक कार्यकाल हालका वरिष्ठ उपाध्यक्ष नै अध्यक्ष बन्दै हुनुहुन्छ, त्यसपछि मात्रै अध्यक्षमा चुनाव हुन्छ’ उनले भने, ‘अध्यक्ष बाहेकका पदमा मात्रै चुनाव हुने भएकाले समूह बनाएर निर्वाचनमा जानु उपर्युक्त देखिँदैन । यसकारण विधानको स्प्रिटले पनि अहिलेलाई सर्वसम्मती नै खोजेको छ ।’
कसको नाममा हुँदैछ सर्वसम्मतको प्रयास ?
‘सरकारले लगानीसँग सम्बन्धित केही कानुन संशोधन गरेपनि इकोनोमिक रिफर्म हुने गरी नीतिगत सिफ्ट गर्न सकेन, यस्तो बेलामा निजी क्षेत्रबीच थप एकताको खाँचो छ’ चन्द्रागिरी बैठकमा अध्यक्ष ढकालले सर्वसम्मततर्फ संकेत गर्दै भनेका थिए । स्रोतका अनुसार ललितपुर उद्योग वाणिज्य संघको कार्यक्रमका समयमा पनि यो विषयमा कुराकानी भएको थियो ।
यसअघि:
महासंघ निर्वाचन: अध्यक्षले थालेको सर्वसम्मतको प्रयास सफल होला ?
पूर्व अध्यक्षहरु कुशकुमार जोशी, भवानी राणा र अध्यक्ष ढकालबीच मोटामोटी समझदारी बनिसकेको स्रोतले बताएको छ । उनीहरुले पूर्व उपाध्यक्ष दिनेश श्रेष्ठलाई वरिष्ठ उपाध्यक्ष बनाएर जाने आन्तरिक समझदारी गरेको स्रोतको दाबी छ ।
‘हेमराज ढकाललाई एक कार्यकाल बाहिर बस्न अनुरोध गर्ने, दिनेश श्रेष्ठलाई सर्वसम्मत रुपमा वरिष्ठ उपाध्यक्ष बनाउने भन्ने कुरा भएको छ’ स्रोत भन्छ, ‘एसोसियट उपाध्यक्षमा प्रबलजंग पाण्डे, वस्तुगत उपाध्यक्षमा शिव घिमिरे र जिल्ला नगरका दुइ उपाध्यक्ष बागमती र लुम्बिनीबाट सर्वसम्मतिले बनाउनुपर्छ भन्ने समभदारी बनेको छ ।’
‘पुस्तान्तरण खोज्छौँ’
स्रोतले पूर्व उपाध्यक्ष श्रेष्ठलाई वरिष्ठ उपाध्यक्ष बनाउने समझदारी भइसकेको दाबी गरेपनि वरिष्ठ उपाध्यक्षका आकांक्षी हालका पदाधिकारीहरुले भने यदि त्यसो गर्न खोजिए पुस्तान्तरणको मुद्दा उठाउने बताएका छन् । सबैतिर पुस्तान्तरणको कुरा उठिरहेका बेला महासंघभित्र पनि पुस्तान्तरणको विषय उठ्ने ति पदाधिकारी बताउँछन् ।
‘पुस्तान्तरणको कुरा छ सबैतिर, हाम्रो संगठनभित्र पनि त्यो कुरा हुनुपर्छ’ उनले भने, ‘नयाँ पुस्तामा नेतृत्व क्षमताको विकास गर्न पनि पुस्तान्तरण चाहिएको छ ।’
वरिष्ठ उपाध्यक्षका आकांक्षी अर्का एक पदाधिकारीले पनि बिदा भइसकेका व्यक्तिलाई फर्काएर जिम्मेवारी दिने कुरामा सहमति हुन नसक्ने अडान लिए । ‘संरचनाभित्र फाइट गरेर रिजेक्ट भएपछि बाहिर गइसकेको व्यक्तिको नाममा सहमति हुन गाह्रो छ’ दिनेश श्रेष्ठतर्फ संकेत गर्दै एक पदाधिकारीले भने, ‘बिदा भइसकेका व्यक्तिलाई ल्याएर सर्वसम्मत रुपमा चयन गर्ने भन्ने कुरा जायज पनि हुँदैन ।’













