बाढी तथा पहिरोका कारण चीनबाट नेपाल आउनुपर्ने सामान उतै रोकिएको छ । बाढी र पहिरोका कारण तातोपानी र रसुवागढी नाका करिब करिब ठप्प हुँदा झण्डै १५ सय नेपाली कन्टेनर सामान चिनियाँ भूमीमै रोकिएको व्यवसायीहरुले बताएका छन् ।
नेपाल चेम्बर अफ कमर्सले पनि नेपाल–चीनबीचको व्यापारका लागि अत्यन्तै महत्वपूर्ण मानिने यी दुई नाकाहरु नजिकिँदो चाडपर्वका बेला बन्द भएपछि व्यापार, व्यवसाय र आयात/निर्यात प्रणालीमा गम्भीर समस्या देखिएको छ । ‘दशैँ, तिहार र छठजस्ता ठूला पर्व नजिकिँदै छन् । अवरुद्ध भएका तातोपानी र रसुवा नाका समयमा पुनर्निमाण सम्पन्न नहुँदा आयात प्रत्यक्ष प्रभावित भएको र यसले उपभोक्तामाथि अतिरिक्त आर्थिक बोझ पर्न सक्ने देखिन्छ’ चेम्बरले भनेको छ ।
नाका अवरुद्द हुँदा चीनबाट आउने इलेक्ट्रोनिक्स, लत्ताकपडा, फलफूल, खाद्यान्न, औषधि र अन्य दैनिक प्रयोगका सामग्रीहरू रोकिन पुगेको चेम्बरको भनाइ छ ।
चाडवाडमै महँगीको चिन्ता
नेपाल समुद्रपार निकासी पैठारी संघका महासचिव जयन्तकुमार अग्रवालका अनुसार दशैँ र तिहारका लागि नेपाली व्यवसायीहरुले अर्डर गरेर लोड भइसकेका अर्बौका सामान चीनतिरै रोकिएका छन् । उनका अनुसार तातोपानी र रसुवागाढी नाकामा गरेर झण्डै ५ सय चिनियाँ कन्टेनर (१५ सय नेपाली कन्टेनर बराबर) सामान उतै रोकिएको छ ।
हिमालय सीमापार वाणिज्य संघका महासचिव रामचन्द्र पराजुलीका अनुसार २०औँ अर्ब बराबरको सामान चिनियाँ भूमीमै रोकिएको छ । यसमा गाडी, जलविद्युत आयोजनाका औजार उपकरणदेखि बिग्रने/नासिने सामान समेत छन् । ‘लत्ताकपडा, मोबाइल तथा कम्प्युटरका सामानदेखि बिग्रने र नासिने खालका वस्तुहरु पनि अड्किएका छन्’ उनले भने, ‘स्याउ, ओखर, आँप, सुन्तला लगायतका फलफूल पनि रोकिएका छन् ।’
मुख्य नाका अवरुद्द हुँदा चाडवाड लक्षित सामान समयमै आउन नसक्दा बजारमा अभाव हुने र त्यसले मूल्यवृद्धि गराउने जोखिम बढाएको छ । अबको एक दुइ हप्ताभित्र सामान नआए दशैँ र तिहारको मुखैमा महँगी बढ्ने चिन्ता थपिएको छ ।
भरिया लगाएर सामान ओसारिँदै
केरुङको मितेरी पुल बाढीले बगाएपछि त्यहाँ अहिले चिनियाँ पक्षले बेलिब्रीज जडान गरिरहेको छ । बेलिब्रीज जडानको काम सक्न अझै केही दिन लाग्ने देखिएको छ । त्यस्तै, नेपाल पट्टि सडक स्तरोन्नतिको काम भइरहेको छ । बाटो बनाउन अझै १५ दिन समय लाग्ने बताइएको छ ।
तातोपानी तिर पनि ‘इको पहिरो’ले नाका नै अवरुद्द बनाएको छ । जसका कारण व्यवसायीहरुले भरियालाई बोकाएर सामान नेपालतर्फ भित्र्याइरहेका छन् । हिमालय सीमापार वाणिज्य संघका महासचिव रामचन्द्र पराजुलीका अनुसार धेरैदिन कन्टेनरमै राख्दा बिग्रने खालका वस्तुहरु अहिले मान्छेलाई बोकाएर नाकाबाट नेपालतर्फ पार गराउने काम भइरहेको छ ।
‘सास्तीको कुरा नगरौँ, तातोपानी नाकाबाट भरियालाई बोकाएर सामान पास गराउनु परेको छ’ उनले भने, ‘यस्तो बाध्यतामा अहिले हामी छौँ । बोकाएर ल्याउन पनि बाटो सजिलो छैन । जोखिम पनि उत्तिकै छ ।’
यति मात्रै होइन, व्यवसायीहरुले तीजका लागि मगाएका सामान पनि अझै चीनतिरै अलपत्र परिरहेका छन् । ‘अब दशैँ र तिहारका सामान पनि समयमै आउँछ कि आउँदैन, यसै भन्न सकिने अवस्था छैन’ उनले थपे ।













