हिमालयन बैंकले गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ। प्रकाशित विवरण अनुसार आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले १ अर्ब ५१ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको छ।
अघिल्लो आर्थिक वर्षको सोहि अवधिको तुलनामा कम्पनीको खुद नाफा २२.१४ प्रतिशतले बढेको हो । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा १ अर्ब २३ करोड रुपैयाँ थियो।
समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ९.९९ प्रतिशतले घटेर १० अर्ब ४५ करोड पुगेको छ। कम्पनीले सम्भावित जोखिमको लागि इम्पेयरमेन्ट चार्ज अन्तर्गतको रकम ५ अर्ब २६ करोडबाट घटेर १ अर्ब ५३ करोडमा सिमित भएको छ । इम्पेयरमेन्ट चार्ज घटेको कारण खुद ब्याज आम्दानी घट्दा पनि बैंकको नाफा बढेको देखिन्छ। कम्पनीको संचालन नाफा भने ८८.४१ प्रतिशतले बढेर ५ अर्ब ४३ करोड पुगेको छ ।
यस अवधिमा कम्पनीको वितरणयोय मुनाफा भने ७ अर्ब १० करोड रुपैयाँ ऋणात्मक रहेको छ जस कारण कम्पनीले लाभांश दिन सक्ने छैन । अघिल्लो आर्थिक वर्षमा पनि कम्पनीको वितरणयोग्य मुनाफा ऋणात्मक थियो ।
कम्पनीको चुक्ता पुंजी २१ अर्ब ६५ करोड रुपैयाँ रहेको छ भने रिजर्भमा २३ अर्ब ३५ करोड रहेको छ। कम्पनीले यस अवधिसम्ममा ३ खर्ब ९ अर्ब निक्षेप संकलन गरेको छ भने २ खर्ब ३२ अर्ब कर्जा लगानी गरेको छ।
समीक्षा अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ६.९८ रुपैयाँ रहेको छ भने कम्पनीको प्रति शेयर नेटवर्थ १७५.०८ रुपैयाँ रहेको छ। कम्पनीको खराब कर्जा ७.२८ प्रतिशत रहेको छ।












