काठमाडौँको गैह्रीधारामा अगाडी पट्टि बिवाईडीका गाडी राखिएको र भित्र भव्य संरचनासहित ‘अटोमोबाइल्स मार्केट’का रुपमा सञ्चालनमा आएको ‘सी कार’ कतिले देख्नु भएको छ ? झट्ट हेर्दा कुनै गाडीको शोरुम जस्तो मात्रै देखिने तर, भित्र छिरेपछि गाडीको बजारकै झल्को आउने यो सी कार साउन १ गतेबाट औपचारिक रुपमा सञ्चालनमा आएको हो ।
शोरुम, ईभीको चार्जिङ स्टेशन, क्याफे, एसेसिरिज लगायतका सबै सुविधा एकै ठाउँमा उपलब्ध गराइरहेको सी कार ‘स्पार्क ग्रुप’को लगानीमा खुलेको हो । जहाँबाट अहिले बिवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंकले जुनसुकै ब्राण्डका गाडीसँग बिवाईडीका गाडी सट्टा पट्टाको सुविधा दिएको छ ।
कसरी आयो ‘सी कार’को अवधारणा ?
काठमाडौँभित्र खुला गाउँ पाउन मुस्किल मात्रै छैन, असम्भव जस्तै पनि छ । यस्तो अवस्थामा एकै छानामुनि उपभोक्तालाई माथि उल्लेखित सुविधा दिन पनि जटिल नै छ । तर, कसरी एकै ठाउँबाट उपभोक्तालाई सबै खालका सेवा दिन सकिन्छ भनेर विभिन्न देशको अध्ययन गरिएको थियो । अध्ययनका क्रममा खासगरी भारतमा परम्परागत अभ्यासभन्दा पृथक लाग्ने ‘अटोमोबाइल्स मार्केट प्लेस’को अवधारणा विकास हुँदै गएको पाइयो । त्यसपछि नेपालमा पनि स्पार्कले यसको सम्भावना पहिल्याउन बजारको अध्ययन गर्यो ।
‘हामीले भारतमा यस्तो मोडल धेरै पायौँ, त्यसपछि नेपालमा पनि कसरी काम गर्न सकिन्छ भनेर अध्ययन गर्दै जाँदा यसको अवधारणा बनेको हो’ ग्रुपका सीईओ राजेश श्रेष्ठ भन्छन्, ‘डिलर र डिस्ट्रिब्युटर्समार्फत ग्राहकसम्म पुग्ने परम्परागत अभ्यासभन्दा ओपन मार्केटमा जाने मोडल यो नै राम्रो हो भन्ने भएपछि हामी अघि बढेका हौँ । अहिले ग्लोबल ईभी लिडरका रुपमा रहेको बिवाईडीले सहकार्य गरिरहेको छ ।’
के के छन् अन्य सुविधा ?
४ रोपनी क्षेत्रफलमा फैलिएको सी कारभित्र प्रवेश गरेपछि जो कोहीले ‘बोरिङ फिलिङ’ गर्नुपर्दैन । किनकी, त्यहाँ विभिन्न कामले पुग्ने मान्छेले समय लाग्ने अवस्था आयो भने सुविधा सम्पन्न क्याफेमा बसेर विभिन्न स्वादपान गर्न पाउँछन् ।
मानौँ, अरु कामले होइन, गाडी चार्ज गर्नकै लागि मात्रै जाँदा पनि कम्तीमा आधा घण्टा समय लाग्छ नै । त्यस्तो समयमा पहिलो तलामा रहेको क्याफेमा बसेर आफ्ना अन्य काम गर्न पनि सकिन्छ । त्यसका पनि गजबको ‘स्पेस’ छ ।

गाडी किन्दा फाइनान्सिङ, इन्स्योरेन्स जस्ता सुविधा पनि एकै ठाउँबाट पाइन्छ । सी कारले फाइनान्सिङका लागि वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, हायर पर्चेज कम्पनीहरुसँग सहकार्य गर्छ । यसैगरी, बीमा दाबी गर्नुपर्यो भने आवश्यक कागजात जुटाउन पनि सी कारले सहयोग गर्छ ।
साथै, आफूले चढिरहेको गाडीको ब्लु बुक नवीकरण गर्न समय दिन सकिरहनु भएको छैन भने सी कारले नि:शुल्क ब्लुक बुक नवीकरण पनि गराइदिन्छ । सबै एसेसिरिज पाइने पसल पनि त्यहीँ उपलब्ध छ । ६ वटा फास्ट चार्जर जडान गरिएको छ ।
त्यसैगरी, उपर्युक्त मूल्यमा गाडीको किनबेच सुविधा पनि छ । तपाईले आफूले चढिरहेको गाडी बेच्नुपर्यो वा एक्सचेन्ज गर्नुपर्यो भने सी कारले नै गाडीको चेकजाँच गरेर ‘भ्यालुएशन’ गरिदिन्छ । यसका लागि गाडीको ‘वेभ साइड लिस्टिङ’देखि फिजिकल रुपमा आफैँले गाडी ल्याएर राख्ने अप्सन पनि छ । एकै ठाउँमा यी सुविधा उपलब्ध हुने सी कार पहिलो थलो हो ।
‘१०० वटा पक्ष जाँचेर सेकेन्ड ह्याण्ड गाडीको मूल्याङ्कन’
स्पार्कका सीईओ राजेशका अनुसार औपचारिक सुरुवात भएको केही दिनमै ‘सी कार’ले निकै उत्साहजनक प्रतिक्रिया पाएको छ । झन त्यसमाथि बिवाईडी जस्तो बलियो र विश्व बिख्यात ब्राण्डको समेत सहकार्यले अझ बल पुगेको छ ।
अझ, सेकेन्ड ह्याण्ड ईभीको खरिद बिक्री अन्योलपूर्ण अवस्थामा रहेका बेला ‘भेरिफाइड भेहिकल’ उपलब्ध गराउने लक्ष्यसहित सुरु भएको सी कार धेरैको नजरमा परेको छ । खासगरी, ईभीको ‘रि–सेल भ्यालू’ तय गर्ने वैज्ञानिक मापदण्ड नभइरहेको अवस्थामा सी कारले विभिन्न १०० वटा पक्ष जाँच गरेर गाडीको मूल्याङ्कन गरिदिने सुविधा ल्याएको छ ।
गाडीको मूल्याङ्कन गर्दा ब्याट्री, गाडी दौडेको दूरी, एक्सिडेन्ट हिस्ट्री, गाडी धनीको हिस्ट्री, मोटर पावरसहित ‘की पार्टस् पफर्मेन्स’ हेरेर एउटा सर्टिफिकेट नै ‘जेनेरेट’ गरिने राजेश बताउँछन् । यी सबै पक्षको जाँच विश्वब्यापी अभ्यासअनुसार गरिने र यसबाट गाडीको ‘फेयर भ्यालू’ निस्कने उनको भनाइ छ ।
‘यसरी हामीले तपाईको गाडीको भ्यालू यति हो भनेर एकदमै फेयर भ्यालूएशन पनि निकालिदिन्छौँ, र त्यसको सर्टिफिकेट पनि जेनेरेट गर्छौँ, ताकी त्यो गाडीको बिक्री तथा खरिदका लागि विश्वास कायम हुन सकोस्’ उनले भने ।
सेकेन्ड ह्याण्ड EV लाई प्रोत्साहन गर्ने लक्ष्य
राजेशका अनुसार अहिले ईभीमा सेकेन्ड ह्याण्ड गाडीको प्रयोगबारे उपभोक्तामा एक खालको अन्योल छ । गाडी चढिरहेकाहरुमा पनि बिक्री हुँदैन कि भन्ने त्रास छ । २ देखि ३ वर्षमै ईभी गाडीको मूल्य नयाँ किन्दाको तुलनामा ६० प्रतिशतसम्म घटाउँदा पनि बिक्री हुन नसकिरहेको अवस्थामा ‘भेरिफाइड सर्टिफिकेट’ दिएरै गाडी किनबेच गराउने लक्ष्य सी कारले लिएको छ ।

यसबाट बेच्नेले पनि उचित मूल्य पाउने र किन्नेले पनि बिना कुनै हिचकिचाहट गाडी किन्न सक्ने अवस्था बन्ने विश्वास लिइएको छ । ‘सेलर र बायरलाई जोड्ने र एजुकेट पनि गर्ने हाम्रो लक्ष्य हो’ राजेशले थपे, ‘सेकेन्ड ह्याण्ड ईभीप्रति विश्वास जगाउँदै एउटा इकोसिस्टम नै बनाउने र बेन्च मार्क सेट गर्ने अभियानमा छौँ ।’
अहिले ईभीको सेकेन्ड ह्याण्ड बजारमा मूल्य निर्धारण प्रक्रिया वैज्ञानिक नहुँदा रिकण्डिशन सेन्टरबाट ईभी बिक्री हुनै सकस छ । ‘हामीले बिक्रीकर्ताबाट ५० लाखमा गाडी किनेर त्यसमा एकदमै थोरै नाफा राखेर बेच्दा पनि सस्टेन हुन सकिन्छ’ उनले भने, ‘हामी यो अभियानमा छौँ । फेरि रिभ्यू पनि इन्डिपेन्डेन्ट छैन, यस्तो अवस्थामा कम्प्लिट इन्फर्मेशन दिएर उपभोक्तलाई विश्वास दिलाउने पनि हाम्रो अभियान हो ।’
सँगसँगै, भविष्यमा यो मोडललाई काठमाडौँ बाहिर पनि विस्तार गर्ने लक्ष्य रहेको छ । खासगरी, देशका मुख्य शहर र राजमार्गहरुमा यो मोडललाई फैलाउने लक्ष्य रहेको भन्दै राजेश भन्छन्, ‘ओपन मार्केट प्लेसमा जाने यो खालको मोडलको भविष्य निकै सुन्दर छ । आउने दिनमा उपभोक्ताले पनि यस प्रकारको मोडललाई माग गर्नेछन् भन्ने हाम्रो विश्वास छ ।’
सी कारमा अहिले ५० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । यसमा अहिले सुरुवातमा बिवाईडीले सहकार्य गरिरहेको र अरु ब्राण्डहरु पनि जोडिन इच्छुक रहेको राजेश बताउँछन् ।













