अपि पावर कम्पनी लिमिटेडको सहायक कम्पनी दिव्यज्योति हाइड्रोपावर लिमिटेडद्वारा प्रवर्द्धित ५० मेगावाट क्षमताको मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको निर्माण कार्य तीव्र गतिमा अघि बढेको छ । कम्पनीका अनुसार हालसम्म आयोजनाको करिब २५ प्रतिशत भौतिक प्रगति सम्पन्न भएको छ भने निर्माणका विभिन्न चरणहरू समानान्तर रूपमा सञ्चालन भइरहेका छन् ।
गण्डकी प्रदेशको लमजुङ जिल्लाको बेसीशहर नगरपालिका र मर्स्याङ्दी गाउँपालिकामा निर्माणाधीन आयोजनामा सिभिल, हाइड्रो–मेकानिकल तथा इलेक्ट्रो–मेकानिकल तीनवटै क्षेत्रको काम अपेक्षकृत गतिमा अघि बढिरहेको कम्पनीले जनाएको छ ।
आयोजनाको इन्टेक तथा डिसेन्डर क्षेत्रमा उल्लेखनीय प्रगति भएको छ । डिसेन्डरको मुख्य संरचनाको निर्माण तीव्र गतिमा भइरहेको छ भने आवश्यक कङ्क्रिट ढलान, संरचनागत निर्माण तथा गुणस्तर परीक्षणको काम निरन्तर भइरहेको कम्पनीले जनाएको छ । यसअघि रातिको समयमा समेत कङ्क्रिट ढलान गरी निर्माणलाई निरन्तरता दिइएको थियो ।
यस्तै, आयोजनाको पावरहाउस निर्माणका लागि आवश्यक उत्खनन कार्य पनि तीव्र गतिमा अघि बढिरहेको छ । पावरहाउस क्षेत्रको भू–संरचना अनुसार कटिङ, ढलान व्यवस्थापन तथा स्थायित्व कायम गर्न आवश्यक पूर्वाधार निर्माण जारी रहेको छ । आयोजनाको निर्माण तालिकाअनुसार पावरहाउस क्षेत्रलाई प्राथमिकतामा राखेर काम हुने कम्पनीको भनाइ छ ।
सिभिल निर्माणसँगै हाइड्रो–मेकानिकलतर्फ पनि महत्वपूर्ण प्रगति भएको छ। आयोजनामा जडान हुने हाइड्रो–मेकानिकल उपकरणहरूको फेब्रिकेसन कार्य हेटौंडास्थित उत्पादन केन्द्रमा सुरु भइसकेको छ । आवश्यक स्टिल संरचना, गेट, पाइप तथा अन्य मेकानिकल उपकरणहरू डिजाइनअनुसार निर्माण भइरहेको कम्पनीले जनाएको छ ।
त्यसैगरी, आयोजनाका लागि आवश्यक इलेक्ट्रो–मेकानिकल उपकरणहरूको उत्पादन प्रक्रिया पनि सुरु भएको छ । यसअघि अन्तर्राष्ट्रिय कम्पनीसँग भएको सम्झौताअनुसार उपकरणहरूको डिजाइन तथा उत्पादन कार्य युरोप र भारतस्थित उत्पादन केन्द्रहरूमा अगाडि बढाइएको छ । उपकरण निर्माण सम्पन्न भएपछि नेपाल ल्याएर आयोजना स्थलमा जडान गरिनेछ ।
यसअघि कम्पनीले आयोजनाका लागि आवश्यक ७ अर्ब ५० करोड रुपैयाँ सह–वित्तीयकरण कर्जा सुनिश्चित गरिसकेको छ । सिटिजन्स बैंकको नेतृत्वमा विभिन्न बैंक तथा वित्तीय संस्थाहरूले कर्जा लगानी गरेका छन् । आयोजनाको कुल अनुमानित लागत ११ अर्ब ३० करोड रुपैयाँ रहेको छ, जसमा बाँकी रकम कम्पनीले स्वपूँजीमार्फत व्यवस्थापन गरिरहेको छ ।
आयोजनाबाट उत्पादन हुने विद्युत् आयोजनास्थलबाट करिब ८ किलोमिटर दूरीमा रहेको नेपाल विद्युत प्राधिकरणको १३२ केभी उदिपुर सब–स्टेशनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ । नेपाल विद्युत प्राधिकरणसँग विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) यसअघि नै सम्पन्न भइसकेको छ ।
आयोजनामा प्रभावित स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको कम्पनीले जनाएको छ । स्थानीय बासिन्दाले उत्साहपूर्वक आयोजना क्षेत्रमा लगानी गरेका छन्, जसले आयोजनाप्रति समुदायको विश्वास र अपनत्वलाई थप मजबुत बनाएको कम्पनीको भनाइ छ ।
साथै, कम्पनीले निकट भविष्यमा आयोजना प्रभावित स्थानीयवासी तथा सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने तयारीस्वरूप आवश्यक प्रक्रिया अगाडि बढाइसकेको जनाएको छ ।









