बीमा प्राधिकरणले विद्युतीय सवारी साधनको बीमा प्रिमीयम बढाउने सम्बन्धमा आवश्यक छलफल अघि बढाएको छ । यसअघि गत बैशाखमा नाडा अटोमोबाइल्स एसोयशियन अफ नेपालको तर्फबाट ईभीको बीमा सम्बन्धि छुट्टै प्रावधान आवश्यक रहेको भन्दै प्राधिकरणलाई सुझाव दिइएको थियो । त्यतिबेला बीमा प्राधिकरणले ईभीको बीमाका लागि छुट्टै निर्देशिका तयार पार्ने जनाएको थियो ।
अहिले बीमा कम्पनीहरु तथा निर्जीवन बीमा कम्पनीका संगठनसँग पनि प्राधिकरणले सुझाव माग गरेर आवश्यक अध्ययन गरिरहेको बताइएको छ । नेपालका सरोकारवालासँग पनि सुझाव लिने र खासगरी दक्षिण एशियाली देशको अभ्यास हेरेर आवश्यक निर्णय लिने तयारीमा प्राधिकरण रहेको बताइन्छ ।
‘नेपालमा ईभीको एडप्शन ७० प्रतिशतभन्दा माथि पुगिसक्यो, यसकारण हामीलाई ईभीको बीमाका लागि छुट्टै कुनै गाइडलाइन चाहिने बेला भइसकेको छ’ प्राधिकरण स्रोत भन्छ, ‘ईभीको मूल्य, ब्याट्रीको विशेष जोखिम र रिपेयर तथा पार्टस् समेतको लागतलाई समेटेर छुट्टै निर्देशिका बनाउने तयारीमा छौँ । अहिले हामीले सुझाव लिएर अध्ययन गरिरहेका छौँ, साथै दक्षिण एशियाली देशको अभ्यास के कस्तो रहेछ भनेर पनि हेरिरहेका छौँ ।’
यस्तो छ दक्षिण एशियाको अभ्यास
नेपालसहित अहिले दक्षिण एशियाका ५ देश बढी इभी खपत गर्ने देशमा पर्छन् । तिमध्ये कुल सवारी खपतको प्रतिशतका आधारमा ईभी खपत गर्ने शीर्ष स्थानमा नेपाल आउँछ । भूगोल, सडक र अन्य पूर्वाधार मिल्दोजुल्दो नै हुने भएकाले बीमा प्राधिकरणले पनि दक्षिण एशियाली देशको अभ्यास अध्ययन गरिरहेको जनाएको छ ।
भारत
भारतमा ब्याट्री क्षमता अनुसार ईभीको तेस्रो पक्षीय बीमा दर निर्धारण गरिएको छ । पछिल्लो तथ्याङ्क अनुसार ३० किलोवाटभन्दा कम क्षमताको ईभीको बीमा प्रिमीयम प्रतिवर्ष १ हजार ७८० भारु छ । ३० देखि ६५ किलोवाट सम्मका ईभीको प्रिमीयम प्रतिवर्ष २ हजार ९०४ भारु छ ।
६५ किलोवाटभन्दा माथिका ईभीको बीमा प्रिमीयम ६ जार ७१२ भारु प्रतिवर्ष रहेको छ ।
यस आधारमा भारतमा आईस इन्जिनवाला गाडीको भन्दा ईभीको कम्प्रेहेन्सिभ बीमा प्रिमियम १२ देखि ३० प्रतिशत बढी रहँदै आएको देखिन्छ । ब्याट्री र पार्टस् महँगो हुने, सीमित रिपेयर सुविधा उपलब्ध रहने र दाबी लागत उच्च हुने कारणले बीमाको प्रिमीयम दर पनि महँगो रहेको बताइन्छ ।
बंगलादेश
ईभीको खपत क्रमशः बढिरहेको बंगलादेशमा भने ईभीको बीमाका लागि छुट्टै प्रावधान छैन । तर, बीमा कम्पनीहरुले ब्याट्री, चार्जर र प्राकृतिक विपद् जोखिम समेट्ने बीमा योजना ल्याएर बीमा गराउँदै आएको देखिन्छ ।
बंगलादेशमा बीमा कम्पनीहरुले ईभीको पार्टस् महँगो हुने र बीमा पछिको दाबी पनि उच्च हुने भन्दै कम्प्रेहेन्सिभ बीमाका लागि फोकस गर्दै आएका छन् ।
पाकिस्तान
पाकिस्तानमा पनि ईभीको बीमाका लागि आधिकारिक दर सार्वजनिक छैन । तर, आईस गाडीको तुलनामा ईभीको बीमा प्रिमीयम बढी नै हुने गरेको बताइन्छ । आधिकारिक दर सार्वजनिक नभएपनि पाकिस्तान रेभिन्यूका अनुसार त्यहाँको सरकारले बीमा कम्पनीहरुलाई अलग अलग दरहरु प्रस्ताव गर्न अनुरोध गरेको छ ।
यहीँ जुलाईमा पाकिस्तानका प्रधानमन्त्रीका उद्योग तथा उत्पादन मामिलाका विशेष सहायक हारुन अख्तर खानले सबै बीमा कम्पनीहरूलाई विद्युतीय मोटरसाइकल, रिक्सा र कारहरूको लागि विस्तृत बीमा दर प्रस्ताव पेश गर्न निर्देशन दिएका थिए ।
श्रीलङ्का
श्रीलङ्काले पनि ईभीको बीमाको प्रिमीयमदर सम्बन्धि छुट्टै प्रावधान हालसम्म ल्याएको देखिँदैन । तर, भारतीय बीमा कम्पनीहरुले अपनाइरहेको दरलाई नै ‘रिफ्रेन्स’ लिएर काम गर्ने गरेको देखिन्छ ।
दक्षिण एशियाबाहेक अन्य देशको अभ्यास कस्तो छ ?
दक्षिण एशियामा हालसम्म भारतले मात्रै स्पष्ट रुपमा दर तोकेको भएपनि दक्षिण एशिया बाहेकका देशले भने लामो समयदेखि नै ईभीको बीमा प्रिमीयमलाई व्यस्थित गरेको देखिन्छ ।
यूके
यूकेमा ईभीको बीमा दर आईसको भन्दा लगभग दोब्बरले बढी छ । यहाँ ईभीको सुरुवाती बीमा दर १ हजार ३४४ यूरो छ । जबकी, आईस गाडीको बीमा प्रिमियम जम्मा ६७६ यूरोबाट सुरु हुने ‘द टेलिग्राफ’ले लेखेको छ ।
इन्स्योरेन्स जर्नलका अनुसार यूकेमा ईभीको औसत प्रिमीयम आइस गाडीको तुलनामा झण्डै दुइ गुण बढी छ । महँगो पार्टस्, उच्च दुर्घटना दर र मर्मत जटिलताले गर्दा प्रिमीयम पनि बढी रहेको जनाइन्छ ।
अमेरिका
अमेरिकामा ईभीको बीमा दर आईस गाडीको तुलनामा १२ देखि २० प्रतिशत महँगो छ । अमेरिकामा ईभीको मासिक प्रिमीयम आईस गाडीको तुलनामा औसतमा ४४ डलरले बढी छ ।
वाल स्ट्रिट जर्नलका अनुसार अमेरिकामा ईभीको बीमा दाबी आईस गाडीको तुलनामा ३० प्रतिशत बढी रहेको छ । साथै, ब्याट्री रिप्लेसमेन्ट खर्च लगायतका कारणले बीमा प्रिमीयम पनि बढी लगाउने गरिएको हो ।
चीन
चीन ठूलो ईभी उत्पादक पनि हो । तर, चीनमा पनि ईभीको बीमा प्रिमियम आईस गाडीभन्दा २० प्रतिशत बढी छ । सीएनबीसीका अनुसार ‘हाइ लस रेसियो’का कारण ईभीको ठूलो उत्पादक देश चीनमै बीमा प्रिमीयम महँगो भएको हो ।
अष्ट्रेलिया
मार्च २०२५ को पछिल्लो विवरण अनुसार अष्ट्रेलियामा ईभीको बीमा प्रिमीयम आइस गाडीको तुलनामा ३० प्रतिशतसम्म धेरै छ । अष्ट्रेलियामा ईभीको बीमा प्रिमीयम औसतमा २ हजार १३४ अष्ट्रेलियन डलर छ ।
तर, ३० प्रतिशत उच्च प्रिमीयम भने उच्च मूल्यका ईभीमा मात्रै लाग्छ । सस्तो मूल्यका ईभीको प्रिमीयम सस्तै छ ।
डेनमार्क
डेनमार्कमा ईभीको बीमा दर आईस गाडीको भन्दा अलिकति मात्रै बढी छ । उक्त देशमा ईभीका लागि संरचनाहरु करिब करिब पूर्ण रुपमा तयार भइसकेका छन् भने सरकारी प्रोत्साहन पनि बढी छ । यसकारण डेनमार्कमा ईभीको बीमा दर आइस गाडीको तुलनामा ३ देखि ५ प्रतिशतसम्म मात्रै बढी रहेको देखिन्छ ।













