आर्थिक वर्ष २०८२/०८३ को बजेट भूक्तानी अब बन्द भएको छ । असार २५ गते बिहिबार मध्यराती १२ बजेबाट भूक्तानी प्रणाली बन्द भएको हो ।
प्रणाली बन्द हुनुअघि असार २५ गते मात्रै ३३ अर्ब १६ करोड ५४ लाख रुपैयाँ भूक्तानी भएको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार असार २५ गते चालू खर्चतर्फ १२ अर्ब ४२ करोड ५ लाख, पुँजीगत खर्चतर्फ १८ अर्ब ३९ करोड ७ लाख र वित्तीय व्यवस्थातर्फ २ अर्ब ३५ करोड ४२ लाख रुपैयाँ भूक्तानी भएको छ ।
चालू आर्थिक वर्षका लागि सरकारले १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट ल्याएकोमा बिहीबारसम्म १५ खर्ब ६५ अर्ब १३ करोड रुपैयाँ खर्च भएको छ । भूक्तानीको अन्तिम दिनसम्म भएको खर्च कुल विनियोजनको ७९.६९ प्रतिशत हो ।
पुँजीगततर्फ सरकारले ४ खर्ब ७ अर्ब ८८ करोड बजेट छुट्याएको भएपनि १ खर्ब ८१ अर्ब ५६ करोड रुपैयाँ मात्रै खर्च भएको छ । विकास बजेटसमेत भनिने पुँजीगत खर्च जम्मा ४४.५१ प्रतिशत मात्रै खर्च हुन सकेको हो ।
चालूतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँ विनियोजन भएकोमा ८८ प्रतिशत अर्थात् १० खर्ब ४२ अर्ब ८४ करोड रुपैयाँ खर्च भएको छ ।









